किर्ते हस्ताक्षर गरी भवानी विद्यापीठको दश लाख रकम हिनामिना  - News site from Nepal
पर्वत-  पर्वतको फलेवास नगरपालिका वडा नं. ५ खानीगाउँमा सञ्चालित भवानी विद्यापीठ माध्यमिक विद्यालयको रु. १० लाख भन्दा बढी रकम एक शिक्षकले किर्ते गरेर हिनामिना गरेको खुलासा भएको छ ।
विद्यालयमा अध्यापनरत आइटि शिक्षक लक्ष्मी ढवालले रकम हिनामिना गरेका हुन् । उनले विद्यालयका प्रधानाध्यापक र लेखापालको समेत हस्ताक्षर किर्ते गरी रु.१० लाख ३५ हजार रुपैयाँ रकम हिनामिना गरेको विद्यालयले जनाएको छ ।
यति ठूलो धनराशि को दुरुपयोग हुँदा विद्यालयले धेरै दिन पछि मात्रै पत्तो पाएको छ ।  विद्यालयका  प्रधानाध्यापक अर्जुन कुमार रेग्मीका अनुसार उक्त कार्यमा संलग्न शिक्षकलाई कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा किटानी जाहेरी दिएको जानकारी दिनुभयो । बैंक खाताबाट नक्कली हस्ताक्षर प्रयोग गरी विद्यालयका आईटी शिक्षक लक्ष्मी ढवालले रकम झिकेको थाहा भएको बताउँदै रेग्मीले कानुन बमोजिम कारबाहीका लागि जाहेरी दिएको बताउनुभयो ।
पहिलोपटक राष्ट्रिय वाणिज्य बैंक, कुश्मा शाखाबाट करिब रु.९० हजार रुपैयाँ, दोस्रोपटक कोटेश्वर, काठमाडौं शाखाबाट रु. आठ लाख ५० हजार रुपैयाँ, र तेस्रोपटक  बाँकी रकम रु. ९५ हजार निकालिएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार विद्यालयबाट किटानी जाहेरी प्राप्त भएको र उक्त जाहेरी उपर अनुसन्धान चलिरहेको छ ।
आरोपित शिक्षक अहिले सम्पर्क विहिन रहेका छन् । शिक्षक ढवालले बैंकमा रकम बुझेको सिसिटिभी फुटेज समेत लिइसकिएको छ । आरोपित शिक्षकलाई नियन्त्रणमा लिनका लागि खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
उक्त घटनाप्रति विद्यालय प्रशासनको मौनता संकास्पद देखिएको स्थानीय अभिभावकहरुले गुनासो गरेका छन । दुई हप्तादेखि चेक प्रयोगमा आउँदा पनि थाहा नपाउनु, घटनालाई सार्वजनिक गर्न नखोज्नु र जिम्मेवार व्यक्ति मौन देखिनुले पनि घटनामा विद्यालय प्रशासनकै मिलेमतोमा हुन सक्ने स्थानीय रातथा नेपाल पत्रकार महासंघ पर्वतका सचिब साजन परियारले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र वहादुर नेपालीले घटनाको विषयमा प्रहरीमा जाहेरी दिएको बताउनुभयो । ‘प्रहरीमा जाहेरी दिएका छौँ, अब कसरी जाने भन्ने विषयमा विद्यालय व्यवस्थापन समितिबीच बैठक बस्ने तयारी गरेका छौँ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!