कुश्मा–बलेवा जोड्न कालीगण्डकी माथि अर्को अग्लो पुल निर्माण शुरु - News site from Nepal

पर्वत ४ कात्तिक : पर्वत र बागलुङ जिल्ला जोड्नका लागि कालीगण्डकी नदी माथि फेरी अर्को अग्लो र लामो झोलुङ्गे पुल निर्माणकार्य शुरु भएको छ ।

अग्ला र लामा झोलुङ्गे पुलसँगै शाहसीक पर्यटकको गन्तब्यको जिल्लाको रुपमा ख्याती कमाउँदै गएको पर्वतमा कुश्माबजार र बागलुङको बलेवा जोड्ने पाँचौ पुलको निर्माण कार्य आइतवारदेखि शुरु भएको हो । कुश्माबजारस्थित वडा नं. ५ मा रहेको आनन्द गुम्वादेखि बागलुङ नगरपालिका वडा नंं १४ नारायणस्थानको कुकुरगाढे जोड्नका लागि चार सय १५ मिटर लामो पुल निर्माण कार्य शुरु गरिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

यस अघि कुश्मा–कैया झोलुङ्गे पुल, कुश्मा–बलेवा यान्त्रिक पुल, कुश्मा–बलेवा बन्जी जम्पको पुल र शिर्सुवा–कैया झोलुङ्गे पुल निर्माण भइसकेका छन् ।

बागलुङ नगरपालिका वडा नंं १४ का वडा अध्यक्ष चक्रबहादुर खत्रीका अनुसार आगामी वि.सं. २०८३ पुस मसान्तसम्ममा पुलको निर्माण सक्ने गरी स्याङ्जाको जय नेपाल ईश्वर निर्माण सेवा प्रा.लि.ले गत असारमा नै ठेक्का सम्झौता गरिसकेको छ । पुलका लागि आधारभूत संरचना तयार गर्न तथा संरचना खडा गर्नका लागि व्यवस्थापन गर्नुपर्ने पूर्व तयारीको बारेमा निर्माण कम्पनीले अध्ययन सकेर धमाधम निर्माण कार्य शुरु भएको छ ।

अहिले कुश्मातर्फको भागमा जग खन्ने र अन्य पुर्वाधार बनाउने काम भैरहेको उहाँले बताउनुभयो । संघीय सरकारबाट विनियोजन भएको रु.पाँच करोड २६ लाख ८० हजार रुपैयाँको लागतमा उक्त पुल निर्माण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!