महेश भुसाल
पर्वत- पर्वतको फलेबास नगरपालिका देवस्थान ६ स्थित श्री जनता माध्यमिक विद्यालयको ६८औं वार्षिक उत्सव तथा अभिभावक दिवस २०८१ बिहीबार सम्पन्न भएको छ।
विद्यालयमा आयोजित कार्यक्रमको फलेवास नगरपालिकाका मेयर गंगादर तिवारीले उद्घाटन गर्नुभएको थियो। सो अवसरमा बोल्दै मेयर तिवारीले फलेबास नगरभित्रका शैक्षिक संस्थाहरूको शैक्षिक गुणस्तरमा प्रश्न चिन्ह उठ्यो भने खतरा हुने उल्लेख गर्दै सबै शिक्षकहरु गुणस्तर अभिवृद्धिको लागि एकजुट भएर लाग्न आग्रह गर्नुभयो।
तिवारीले जनता माध्यमिक विद्यालय देवीस्थानमा अध्ययनरत असाय र जेनदार विद्यार्थीको लागि व्यक्तिगत रुपमा १ लाख१ हजारको अक्षयकोष स्थापना गर्ने घोषणा पनि गर्नुभयो। स्कुल बसको लागि उक्त विद्यालयमा ३ लाख नगरपालिकाको तर्फबाट सहयोग गरिसकेको र आवश्यक परे थप रकम पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। फलेबास नगरका सबै वडामा समान रुपले खानेपानी सडक र विद्यालय भवनको स्तर उन्नति गर्ने उहाँको भनाइ छ।
सो अवसरमा उहाँले विद्यालयमा नवनिर्मित भवनको उद्घाटन तथा सरस्वती मन्दिर र संस्थापक अध्यक्ष स्वर्गीय क्याप्टेन रघुवीर श्रेष्ठको सालिकमा माल्यार्पण गर्नुभयो। कार्यक्रममा बोल्दै फलेबास नगरपालिकाका पूर्व मेयर पदमपाणी शर्माले फलेबास नगरपालिकाका भौतिक पूर्वाधारहरूको स्तरोन्नति गरी शिक्षालाई नयाँ आयाम दिनुको विकल्प नरहेको बताउनुभयो।
गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको भन्दै उहाँले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा अभिभावकहरूको अहम भूमिका हुने उल्लेख गर्नुभयो। फलेबास नगरपालिकाबाट हुने बसाई सराईलाई रोक्नु अहिलेको आवश्यकता रहेको भन्दै विद्यालयलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्नुपर्ने उहाँको भनाइ छ। कार्यक्रममा फलेवास नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नवीनकुमार श्रेष्ठले शिक्षकको एकल प्रयासले मात्र शैक्षिक गुणस्तर वृद्धि नहुने भन्दै अभिभावकलाई पनि जिम्मेवार हुन आग्रह गर्नुभयो।
पछिल्लो समय विभिन्न कारणले सरकारी विद्यालयमा विद्यार्थीको सङ्ख्या कम हुँदै गएको उल्लेख गर्दै यसतर्फ सरकारवाला सबैको ध्यान केन्द्रित हुन जरुरी रहेको उहाँको भनाइ छ। कार्यक्रममा बोल्दै छिमेकी विद्यालय भवानी विद्यापीठ माविका प्रधानाध्यापक अर्जुन रेग्मीले यस क्षेत्रमा रहेका शैक्षिक संस्थाहरूको बीचमा सहकार्यको आवश्यकता रहेको बताउनुभयो कार्यक्रममा रामेश्वर गौतम रामप्रसाद पौडेल ठाकुरप्रसाद भुसाल लगायतले जनता माविको शैक्षिक गुणस्तर अभिवृद्धिको लागि आफूहरूले जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जीवनाथ पौडेलले विद्यालयको चौतर्फी विकासमा साथ दिने सबैलाई धन्यवाद दिँदै शैक्षिक सुधारमा अहोरात्र खटिने बताउनुभयो। त्यस्तै उहाँले शैक्षिक गुणस्तर र अभिवृद्धिको लागि शिक्षक विद्यार्थी अभिभावक र सरोकारवालाहरूको समन्वयात्मक भूमिका हुनुपर्ने बताउनुभयो। साथै उहाँले सो अवसरमा विद्यालयको भौतिक तथा वार्षिक आर्थिक प्रतिवेदन पनि पेश गर्नुभयो।
कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि विभिन्न छात्रवृत्ति र पुरस्कार वितरण गरिएको थियो। विद्यार्थीहरुले गीत नृत्य र नाटक मञ्चन गरेर मनोरञ्जन दिलाएका थिए भने कृष्ण कडेलको समूहले भजन प्रस्तुत गरेको थियो। सोही अवसरमा भूतपूर्व माध्यमिक संस्थापक प्रधानाध्यापक गंगराज शर्माले विद्यालयमा पुर्याएको भौतिक आर्थिक र शैक्षिक योगदानको कदर गर्दै सम्मानको कार्यक्रमलाई जोडिएको थियो।
भोलानाथ भुसालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अन्जना श्रेष्ठ र कार्यक्रमको सञ्चालन शिक्षक द्वय उपेन्द्र थापा र विष्णु गौतमले गर्नुभएको थियो।






