तलब भत्ताको रकम सामाजिक सेवामा खर्चिदैँ वडाध्यक्ष तिवारी - News site from Nepal
तलब भत्ताको रकम सामाजिक सेवामा खर्चिदैँ वडाध्यक्ष तिवारी
 पर्वत, ३ कात्तिक : पर्वतको फलेवास नगरपालिका वडा नंं. ४ मुडिकुवाका वडा अध्यक्ष अच्युत तिवारीले आफुले जनप्रतिनिधि भएवापत राज्यवाट पाउने तलब भत्ता सामाजिक सेवामा लगाउनुभएको छ ।
मासिक रुपमा पाउने रु. २४ हजार भन्दा बढि रकमलाई समाजका विभिन्न क्षेत्रमा लगानी गर्नुभएको हो । उहाँले पछिल्लो पाँच महिनाको रकम मुडिकुवामा रहेका आमा समुहलाई र माझी परिवारलाई खाद्यान्नका लागि सहयोग गर्नुभएको छ ।
आइतवार मुडिकुवामा आयोजित एक कार्यक्रममा मुडिकुवामा टोलस्तरमा रहेका ८ वटा महिला समुहलाई रु. दश हजार रुपैयाका दरले हस्तान्तरण गर्नुभएको हो भने वडामै रहेका माझी परिवारलाई चाडवाडको बेला राहत मिलोस भन्ने उदेश्यले चामल, दाल लगायतका खाद्यान्न वितरण गरिएको तिवारीले बताउनुभयो ।
तिवारीले यस अघि एक महिनाको तलब सुविधाले नेपाल पत्रकार महासंघ पर्वत शाखालाई साउण्ड सिष्टम  खरिद गर्नका लागि सहयोग गर्नुभएको थियो । जनताहरुले नै अमुल्य मत दिएर आफुलाई जनप्रतिनिधि बनाएकोले आफुले पाउने तलब भत्ता उहाँहरुकै लागि खर्च गर्ने योजना बनाएको तिवारीले बताउनुभयो । उक्त रकमले महिला समुहहरुमा आपतकालीत सहयोग कोष स्थापना गर्न वा अन्य सामाजिक प्रयोजनमा प्रयोग गर्न सहज हुने उहाँको भनाई छ ।
जनताले सर्वसुलभ रुपमा सेवा पाउनुपर्छ, वडाको आर्थिक, भौतिक, शैक्षिक विकासका लागि सवै एकजुट बनाउनका लागि आफुले भरपुर प्रयास गरेको उहाँको भनाई छ । उहाँले सिमीत श्रोत र साधनका कारण नागरिकले चाहेजस्तो विकास गर्न नसकिएको बताउँदै आगामी दुई वर्ष भित्रमा चुनावमा गरेका घोषणा पुरा गर्न सक्रिय भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
फलेवास नगरपालिकाका प्रवक्ता समेत रहनुभएका तिवारी नेपाली काँग्रैस पर्वतको सहसचिब समेत हुनुहुन्छ । उहाँले आगामी दिनमा पनि नागरिकको माग र आवश्यकताको आधारमा वितरण गर्दै जाने उहाँको भनाई छ ।
रकम हस्तान्तरण कार्यक्रममा पुर्व सांसद ऋषिकेश तिवारीले फलेवास नगरपालिकालाई विकासका दृष्टिकोणले नमुना नगरपालिका बनाउनका लागि सवै राजनीतिक दल र स्थानीयवासी एकजुट भएर अघि बढ्नुपर्ने सुझाव दिनुभयो । नागरिकलाई आधारभुत सेवा सुविधा सर्वसुलभ रुपमा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै नगरको विकासका लागि आफु पनि हरदम रुपमा सक्रिय भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, पत्रकार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक तथा महिला दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!