जनता सुदर्शन माविको ६१ औँ बार्षिकोत्सव सम्पन्न - News site from Nepal
जनता सुदर्शन माविको ६१ औँ बार्षिकोत्सव सम्पन्न

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहेको जनता सुदर्शन माध्यमिक विद्यालयको ६१ औँ बार्षिकोत्सव समारोह तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयमा नवनिर्मित भवन सहित कार्यक्रमको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गर्नुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले गुणस्तरीय शिक्षाको विकास विना शैक्षिक क्षेत्र सुधार गर्न नसकिने बताउनुभयो । रित्तिदँै गएका गाउँका विद्यालयहरुमा विद्यार्थी पनि पातलिँदै गएको भन्दै अब सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारलाई मुख्य प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेशको समृद्धि र विकासका लागि सरकारले विभिन्न कामहरु अघि सारेका बताउँदै विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य, खेलकुदको विकास पनि गर्दै लगिने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवर, रेखा गुरुङ, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, उपप्रमुख स्वस्थानी रिजाल, नेपाल समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष ढाकाराम गौतम, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य सिता काफ्‌ले लामिछाने, जिल्ला उपसभापति डा. चुडामणी शर्मा, शिव सुवेदी, काँग्रेस महाधिवेशन प्रतिनिधि शिव अधिकारी, नेकपा एमालेका जिल्ला सदस्य राजेन्द्र पौडेल, काँङ्ग्रेस वडा सभापति कुमार सुवेदी, एमाले वडा अध्यक्ष रुद्र केसी, समाजसेवी महेश शर्मा लामिछाने, भुपु विद्यार्थी समाजका अध्यक्ष मिलन पौडेल लगायतले बोल्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमनाथ कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत ठुलीपोखरीका वडा अध्यक्ष झलक रिमाल र संचालन शिक्षक विनोद सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा हेमराज सापकोटाले स्वस्ती बाचन गर्नुभएको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतीहरु राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!