पर्वत काँग्रेसद्धारा फागुन २१ को निर्वाचन अगावै महाधिवेशन गर्न माग - News site from Nepal

पर्वत – नेपाली काँग्रेस पर्वतले निर्वाचन अगाडि नै नेपाली काँग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड दिएको छ । १ मंसिरमा सम्पन्न जिल्ला कार्य समितिको बैठकले निर्वाचन अगावै काँग्रेसको १५ औँ महाधिवेशन हुनुपर्नेमा निर्णय गरेको छ । बैठकले पार्टीको नीतिगत दिशानिर्देशअनुसार संगठनात्मक पुनर्संरचनालाई अत्यावश्यक ठहर गर्दै पार्टी नयाँ नेतृत्व चयन तथा संगठन सुदृढीकरणमार्फत २१ फागुन २०८२ मा हुने निर्वाचन हुनु अगाडि नै नियमित महाधिवेशन गर्दा उपयुक्त हुने सुझाव केन्द्रमा पठाउने निर्णय गरेको नेपाली काँग्रेस पर्वतका सचिव गुप्तनिधि शर्माले जानकारी दिए ।

बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पार्टीभित्र लामो समयदेखि थाँती रहेका संगठनात्मक चुनौती, आन्तरिक समन्वयको कमी र संरचनागत कमजोरीलाई समाधान गर्न नियमित महाधिवेशन नै प्रभावकारी माध्यम भएको टिप्पणी गरेका थिए । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुदृढ संगठन र सक्षम नेतृत्वका माध्यमबाट प्रदेश तथा संघ दुवै तहमा उल्लेख्य परिणाम निकाल्न सकिने विश्वास पनि व्यक्त गरिएको छ । पर्वत काँग्रेसले पछिल्ला वर्षमा देखिएको राजनीतिक परिवर्तन, निर्वाचनमा बढ्दो प्रतिस्पर्धा र जनताका अपेक्षालाई पूरा गर्न पार्टीले युवा तथा अनुभवी दुवै पुस्ता समेट्ने नेतृत्व संरचना आवश्यक रहेको निष्कर्ष निकालेको छ । यसका लागि अधिवेशन प्रक्रिया छिटो टुंग्याई संगठनलाई गतिशील बनाउनु आजको आवश्यकता रहेको बैठकले औँल्याएको छ ।

सचिव शर्माका अनुसार लेवी नबुझाएका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको क्रियाशिल सदस्यता नविकरण नगर्ने निर्णय बैठकले सर्वसम्मतिले पारित गरेको छ । बैठकको नियमावलीको परिच्छेद ७ को उपदफा २३(५) मा उल्लेखित प्रावधानलाई कार्यान्वयन गर्दै लेवी तिर्ने दायित्व पूरा नगर्ने जनप्रतिनिधि क्रियाशील सदस्यका रूपमा निरन्तरता पाउन योग्य नहुने स्पष्ट गरेको हो । पार्टी संगठनमा आर्थिक अनुशासन र दायित्वबोध स्थापित गर्न यस कदम आवश्यक रहेको बैठकमा सहभागी सदस्यहरूले बताएका थिए । जिल्ला कार्य समितिका पदाधिकारीहरूले पार्टीभित्र आर्थिक पारदर्शिता, उत्तरदायित्व र संस्थागत व्यवहार सुदृढ गर्न लेवी प्रणालीलाई अनिवार्य रूपमा लागू गर्नुपर्नेमा जोड दिए । उनीहरूका अनुसार पार्टीका पदाधिकारी र जनप्रतिनिधिले नियम अनुसारको लेवी समयमै बुझाउनु नै संगठनप्रति दायित्व र प्रतिबद्धताको आधार हो । बैठकले अझै पनि लेवी नबुझाएका जनप्रतिनिधिहरूलाई तोकिएको समयभित्र रकम बुझाई सदस्यता नवीकरणका आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतले वडा, पालिका र प्रदेशबाट प्राप्त क्रियाशील सदस्यताको सूचीलाई अन्तिम रूप दिई केन्द्रीय कार्यालयमा पठाउने निर्णय बैठकले गरेको छ ।

भदौ २३ र २४ गतेको जेएनजी आन्दोलनबाट क्षतिग्रस्त बीपी स्मृति भवनको पुनर्निर्माण र मर्मतसम्बन्धी प्रगतिबारे जानकारी दिंदै समितिका संयोजक शिव शर्मा पौडेलले भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको र आवश्यक सहयोगका लागि सबैलाई आह्वान गरिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!