पर्वत– पर्वतको मोदी गाउँपालिकाले भोली मंसिर तीन गते सार्वजनिक बिदा दिने भएको छ ।
मंसिर कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी पर्व (सद्बीज छर्ने दिन) को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले एक सुचना जारी गर्दै बालाचतुर्दशीको अवसरमा सम्पुर्ण गाउँपालिकाबासीहरुमा हार्दिक शुभकामना समेत व्यक्त गर्नुभएको छ ।
गाउँपालिका भित्र रहेका विभिन्न शक्तिपिठहरुमा बालाचतुर्दशी पर्वको अवसरमा विशेष मेला लाग्ने भएको र सवै नागरिहरु त्यसमा सहभागि हुने भएकोले गाउँपालिकाका अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु, शैक्षिक संस्था, अन्य कार्यालयहरु बन्द रहने गरी स्थानीय बिदा दिने निर्णय भएको उहाँले जानकारी दिनुभएको छ ।
बालाचतुर्दशीमा मोदी गाउँपालिकाको सिमानामा पर्ने पञ्चासेमा विशेष मेला लाग्दछ भने पातीचौर, भमरकोट, विभिन्न कोट तथा शिवालयहरुमा भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ । साँस्कृतिक पर्वको जगेर्ना गर्नका लागि हरेक वर्ष मोदीमा बिदा दिने गरीएको छ ।






