पर्वत– गैरआवासीय नेपाली संघ एनआरएनए का पुर्व अध्यक्ष कुल आचार्य आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्वतबाट प्रत्यक्ष तर्फको उम्मेदवारको आकांक्षी देखिएका छन् ।
उनि नेपाली काँग्रेस पर्वतवाट उम्मेदवार लागि दावी गरेका हुन् । आगामी निर्वाचनका लागि उम्मेदवार सिफारीस गर्न पर्वत काँग्रेसले बुधवार संकलन गरेको आकांक्षीहरुको सुचिमा आचार्यको नाम समेत ११ नम्वरमा समावेश गरिएको हो । आचार्यले आफ्ना मित्र नेपाली काँग्रेस जलजलाका सभापति जगतशंकर पौडेल मार्फत उम्मेदवारका लागि रु. पाँच हजार रुपैया सहित फारम बुझाएका हुन् ।
आचार्यको उम्मेदवारीले पर्वत काँग्रेसमा तहल्का मच्चिएको छ । पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाईरिङ्ग निवासी आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् । उनी लण्डनका स्थापित व्यवसायी हुन् भने समाजसेवी पनि हुन् । करिव दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्य एनआरएनएको अघिल्लो कार्यकालमा सर्वसम्मत अध्यक्ष बनेका थिए ।
नेपाली काँग्रेका विभिन्न शिर्ष नेताहरुका निकट रहेका आचार्यले पर्वतवाट उम्मेदवारी दिनुलाई नेता तथा कार्यकर्ताहरुले आश्चर्य मानेका छन् । आचार्य वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसँग निकट सम्वन्ध स्थापित भएका व्यक्ति हुन् । केहि वर्ष अघि उनले जन्मस्थान धाईरिङ्गमा गरेको विशेष पुजामा ममेत राष्ट्रपति पौडेल लगायतका केहि नेता सरिक भएका थिए ।
आर्थिक हिसावले सबल र नेताहरुको समेत नजिक भएकाले प्रत्यक्षमा टिकट प्राप्त गर्न सक्ने अनुमान कतिपयको छ । आचार्य सँगै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उमेदवार बन्नका लागि पर्वत कांग्रेसको तर्फबाट २१ जनाले दाबी गरेका छन् ।
नेपाली काङ्ग्रेस पाटी कार्यालयमा बुधवार सम्पन्न उमेदवारी दावीका लागि २१ जनाले आवेदन दिएका हुन् । प्रत्यक्ष तर्फ एक सिटका लागि हुने निर्वाचनमा पर्वत कांग्रेसको तर्फबाट २१ जनाले आकाक्षा दरखास्त दिएको नेपाली काँग्रेस पर्वतका सचिब गुप्तनिधि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार –‘दावी गर्नेहरु वीच बसेर सहमतीको प्रयास गरिने भएको छ ।’
प्रतिनिधि सभामा निर्वाचन लड्नका लागि काँग्रेस केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुन जोशीले छैटौं पटक पनि आकांक्षा ब्यक्त गर्नुभएको छ । तीन पटक प्रतिनिधि सभामा निर्वाचित जोशी दुई पटक पराजीत भईसक्नुभएको छ । जोशीसँगै प्रतिनिधि सभामा यस अघि वि.सं. २०७४ सालको निर्वाचनमा प्रदेश सभामा पराजीत हुनुभएका नवराज गुरुङले समेत दाबी पेश गर्नुभएको छ ।
बि.सं.२०७९ सालको प्रदेश सभा निर्वाचनमा पराजित ऋषीकेश तिवारीले समेत प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ दावी पेश गर्नुभएको छ । प्रतिनिधि सभामा कुश्मा नगरपालिकाका पूर्व नगर उपप्रमुख सिता काफ्ले लामिछाने तथा तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङ र वि.सं.२०७४ सालकै निर्वाचनमा प्रदेश सभा तर्फ पराजीत हुनुभएका राजेन्द्र तिवारीले समेत दाबी पेश गर्नुभएको छ ।
यसैगरी जलजला गाउँपालिकाका पूर्व अध्यक्ष तथा जिल्ला सभापतिमा पराजित कांग्रेस नेता यामबहादुर मल्ल र महासमिति सदस्य तथा महिला नेतृ राधाकुमारी क्षेत्री कुँवर तथा पैयू गाउँपालिकाका पूर्व अध्यक्ष खगेन्द्र प्रसाद तिवारीको समेत दावी रहेको छ ।
बुधवार जिल्ला कार्यालयमा भएको उमेदवारीको आकांक्षा संकलनमा कांग्रेस क्षेत्रीय कार्य समितिका सचिव तथा पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारी, महाधिवेशन प्रतिनिधि मुना भुषाल, डा. केदार सुवेदी पूर्व सचिव विश्व प्रकाश प्रसाई, कांग्रेस नेताहरु विल्लब हमाल, मिनाकुमारी केसी, कुलप्रसाद आचार्य, जगत शकर पौडेल, राम शर्मा पौडेल र यम पि भुसाल, सुशिल न्यौपाने, रामबहादुर प्रसाई, भाष्कर शर्मा पौडेलले समेत दाबी प्रस्तुत गर्नुभएको छ ।
आकांक्षीको संख्या धेरै भएपछि आज छलफल गरेर कम्तिमा तीन जनाको नाम केन्द्रमा सिफारीस गर्नेगरी अहिले उम्मेदवारहरुबीच छलफल चलिरहेको जिल्ला सचिब गुप्तनिधि शर्माले जानकारी दिनुभयो ।





