पर्वत, २५ कात्तिक : पर्वतको मोदी गाउँपालिका वडा नं. ६ दराकमा कागारबाट छुटेकै दिन एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
दराकका ५१ वर्षिय जीतबहादुर विकले आफ्नै ५२ वर्षिया श्रीमती सिता बिकलाई गएराती १ बजेको समयमा कुटपिट गरी हत्या गरेका हुन् । कुटपिट बाट बेहोस अवस्थामा रहेकी सितालाई प्रहरीले उद्धार गरी गएरातीनै प्रदेश अस्पताल पर्वतमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सिताको टाउको र अनुहारमा चोट लागेको थियो ।
कुटपिटको घटनापछि घरमै रहेकी सिताकी बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेपछि लगत्तै पुगेको देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले अभियुक्त जीतबहादुर विकलाई समेत पक्राउ गरेको प्रहरी निरिक्षक सुदिप भण्डारीले जानकारी दिनुभयो । विकलाई स्थानीयले नियन्त्रणमा लिई थुनेर राखेका थिए । अहिले मृतक सिताको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल पर्वतमा राखिएको छ ।
अभियुक्त बिक वैवाहिक जवरजस्ती करणीको अभियोगमा कैद भुक्तान गरी सोमवार नै धरौटीमा छुटेका थिए । मृतक श्रीमतीलेनै धरौटी तिरेर उनलाई छुटाएकी थिईन । घर पुगेकै दिन साँझ खाना खाईसकेपछि श्रीमतीमाथि जाई लागेको प्रहरीले जानकारी दिएको छ । उनका तीन छोरा रोजगारीका लागि विदेशमा रहेका छन् भने घरमा बुहारी सहित चार जना बस्दै आएका थिए ।
घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।






