पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नंं. १२ ठुलीपोखरीमा निःशुल्क मुटु रोग परिक्षण शिविर हुने भएको छ ।
यहि मंसिर २७ गते शनिवार शिविर आयोजना गरिएको हो । ठुलीपोखरी स्थित कुश्मा आधारभुत अस्पतालमा हुने शिविरका लागि सेभ द हार्ट, र नेपाल कार्डियोको प्राविधिक सहयोग रहेको छ । शिविरमा निःशुल्क मुटुरोग सम्वन्धि परामर्श र परिक्षण, निःशुल्क इसिजी, निशुल्क इको कार्डियोग्राफी, निःशुल्क औषधी र १८ वर्ष भन्दा कम उमेरका बालबालिकाको निशुल्क मुटुको शल्यक्रिया सेवा संचालन हुने भएको छ ।
आर्थिक अभावका कारण लामो समयदेखि मुटुरोग सम्वन्धि समस्याले ग्रसित बिरामीहरुलाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको कुश्मा नगरपालिका वडा नंं. १२ ठुलीपोखरीका वडा अध्यक्ष झलक रिमालले बताउनुभयो ।
शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा डा. सुमन अधिकारी, डा. सुतप यादब, बोधराज गौतम लगायतको टोलीले बिरामीहरुको उपचार गर्ने भएको छ । शिविर विहान ८ बजेदेखि साँझ ४ बजेसम्म संचालन हुने भएको छ । शिविरमा सहभागि भएर आफ्नो स्वास्थ्य परिक्षण गराउन आयोजकले अनुरोध गरेको छ ।





