पर्वत–ः पर्वतमा पहिलोपटक सवैभन्दा बढि पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ ।
समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत महोत्सवको अवसरमा रु. दुई लाख २२ हजार २ सय २२ रुपैया पुरस्कार राशिको गण्डकी प्रदेश अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको हो ।
महोत्सव आगामी पुस नौ गतेदेखि १९ गतेसम्म आयोजना गरिएको छ । जसमा भलिबल खेल र खेलाडीहरुको क्षमता विकास र खेल पर्यटनको विकास गर्ने उद्धेश्यले भलिबल प्रतियोगिता गर्न थालिएको हो । जसमा गण्डकी प्रदेशका ११ जिल्लामा रहेको ८५ वटा पालिकाले सहभागिता जनाउन पाउने भएका छन् ।
महोत्सवका खेलकुद संयोजक प्रदिप तिमिल्सिनाका अनुसार भलिबल प्रतियोगितामा प्रथम हुनेले २ लाख, २२ हजार २ सय २२, द्धितिय हुनेले एक लाख ११ हजार १ सय ११, तृतिय हुनेले ५५ हजार पाँच सय ५५ र तृतिय हुनेले २२ हजार २ सय २२ रहेको छ । खेलाडीहरुको सहभागिताका लागि अहिले पत्राचार गर्ने र टिम दर्ताको प्रकृया थालिएको संयोजक तिमिल्सिनाले जानकारी दिनुभयो ।
महोत्सवको दर्शकको संख्या बृद्धि र नव खेलाडीहरुलाई भलिबल तर्फ आकर्षण गर्नका लागि पनि यो प्रतियोगिताले महत्वपुर्ण भूमिका खेल्ने महोत्सव मुल संयोजक ठाकुर वि पौडेलले जानकारी दिनुभयो । प्र्रतियोगिताका लागि जिल्ला भलिबल संघ र जिल्ला खेलकुद विकास समिति पर्वतले पनि समन्वय गरेका छन् ।
महोत्सवमा समग्र पर्वत जिल्लालाई समेटेर आर्थिक, पर्यटन, तथा उद्यम विकाससँग सम्वन्धित टिकटक बनाउने प्रतियोगिता पनि राखिएको हो । यसैगरी सुन्तला खाने प्रतियोगिता पनि महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको छ ।
महोत्सवको दिन नजिकिदै गर्दा अहिले आवश्यक तयारीहरु भैरहेका छन् । लोक दोहोरीप्रतियोगिता, भजन तथा रत्यौलीका प्रस्तुतीहरुसँगै रमाईलो मेला जस्ता आकर्षणहरु रहेका छन् । यसपटक पर्वत जिल्लामा अहिलेसम्म नआएका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा बटुल्न सफल कलाकारहरु र कन्सर्टहरुलाई महोत्सवले स्थान दिने भएको छ । दर्शकहरुका लागि नयाँ नयाँ स्वाद र मनोरन्जन दिने हिसावले तयारीहरु भैरहेको प्रचार प्रसार सयोजक खड्गप्रसाद खनालले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेलाका रूपमा आयोजना हुने महोत्सवको लक्ष्य शान्ति र सद्भाव प्रवाह गरी गण्डकी प्रदेशको लघु, घरेलु, कृषि, वन र पशुजन्य उद्यमहरूको प्रचारप्रसार, प्रवद्र्धन र बिक्री व्यवस्थापन रहेको छ । यस्तै जिल्लामा रहेका कला, संस्कृति, खेलकुद, ऐतिहासिक तथा धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन गराई जिल्लालाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु पनि महोत्सवको लक्ष्य रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।






