पर्वत– उपभोक्तालाई गुणस्तरीय मासु उपभोग गराउनका लागि पर्वतको कुश्मा नगरपालिकाले सक्रियता बढाउँदै गएको छ ।
सदरमुकाम कुश्माबजार र आसपासका बजार क्षेत्रमा दैनिकजसो विक्रिवितरण हुने मासुमा शुद्धता र स्वच्छता कायम गर्नका लागि नियमित अनुगमन गर्न थालिएको छ । नगरपालिका भित्र झण्डै एक सयको हाराहारीमा मासुपसलहरु रहेपनि नगरपालिकामा दर्ता प्रकृयामा न्यून संख्यामात्र रहेको छ । पसल दर्ता, नविकरण, सरसफाई, फ्रिजिङ, मुल्यमा एकता लगायतका कुराहरुमा समावेशीता र सुधार गर्नका लागि नियमित अनुगमन, सुझाव तथा निर्देशन दिन थालिएको कुश्मा नगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक डा. रुपक कँडेलले बताउनुभयो ।
उहाँका अनुसार नगरपालिकाले नियमित अनुगमन गर्दा विगतका वर्षहरुमा भन्दा धेरै गुणा सुधार देखिएको छ । मासु पुसल संचालन गर्दा तयार गर्नुपर्ने पुर्वाधारहरु तयार भएको, सरसफाई र स्वच्छतामा सुधार आएको उहाँले बताउनुभयो ।
समस्या देखिएका र पटक पटक सुझाव, सल्लाह र चेतावनी दिँदा समेत सुधार नगरेका पसलहरुलाई कारबाहीको दायरामा ल्याईने उहाँले बताउनुभयो । अनुगमनको क्रममा अझैपनि सरसफाईमा कमी देखिएको छ । एउटै फ्रिजमा कुखुरा, बोका, राँगा, माछा लगायतका मासुहरु फ्रिज गरेको पाईएकोमा तत्काल हटाउन लगाईएको थियो ।
उपभोक्ता ऐन अनुसार ब्यावसाय संचालन गर्न अनुरोध गरिएको डा. कँडेलको भनाई रहेको छ । मासु उपभोग गर्ने उपभोक्ताहरुपनि सचेत हुनुपर्ने उहाँले बताउनुभयो । मासु किन्न जाँदा पसलको सरसफाई, मासुको अवस्था, मुल्यसुचि लगायतका कुराहरु हेरेर मात्र खरिद गर्नुपर्ने उहाँको सुझाव छ ।






