फलेवास नगरपालिकाले बनायो स्थानीय पाठ्यक्रमको पुस्तक, नगरप्रमुख तिवारीद्धारा विमोचन - News site from Nepal

पर्वत– फलेवास नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको छ । नगरपालिकाका विविध विषयबस्तुलाई समावेश गरेर कक्षा एकको पाठ्यपुस्तक तयार गरेको हो ।
पालिकाको भौगोलिक विविधता तथा स्थानीय रितिरिवाज संस्कार, संस्कृति समेटिएको स्थानीय पाठ्यक्रममा आधारित पुस्तक ‘हाम्रो फलेवास’ तयार भएपछि बिहीवार एका कार्यक्रमका बीच बिमोचन गरिएको छ । नगरप्रमुख गंगाधर तिवारीले पुस्तकको बिमोचन गर्नुभएको हो ।
पुस्तकको बिमोचन गर्दै नगरप्रमुख तिवारीले संविधानले प्रदत्त गरेको एकल अधिकार सूचिमा सुचिकृत स्थानीय पाठ्यपुस्तक तयार पारी अध्यापन गराउने हुटहुटी पुरा भएको बताउनुभयो । अब फलेवासभित्रका हरेक विद्यालयमा अध्ययनरत आधारभुत तहका बालबालिकाहरुले आफ्नो नगरभित्रको समग्र चिनारी पाठ्यपुस्तकमा नै पढ्न पाउने भएका छन् ।
उक्त पाठ्यपुस्तक चालु शैक्षिक सत्रदेखिनै पठनपाठन शुरु गरिने नगरका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद आचार्यले बताउनुभयो । यस वर्षदेखि कक्षा एक देखि निरन्तर पठन पाठन शुरु हुने छ भने वर्षेनी हरेक कक्षाको पाठ्यक्रम तयार गरिदै जाने उहाँले बताउनुभयो ।
बालबालिकालाई स्थानीय परिवेशसँग परिचित गराउनका लागि स्थानीय पाठ्यक्रमको महत्वपुर्ण भूमिका रहेको प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पौडेलले बताउनुभयो । नगरका स–साना कुरादेखि महत्वपुर्ण विषयबस्तु र ऐतिहासिक कुराहरु पनि बालबालिकाले जानकारी लिन सक्ने उहाँको भनाई छ ।
बिमोचन कार्यक्रममा नगर उपप्रमुन शोभा क्षेत्री, विभिन्न वडाका वडा अध्यक्षहरु, अन्य जनप्रतिनिधि तथा शिक्षक र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!