
पर्वत १४ साउन ः उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरबको कालीगण्डी करिडोरको पर्वत खण्ड सुख्खा पहिरोले अबरुद्ध बनेको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ स्थित बडागाउँ–कैया अग्लो झोलुङ्गे पुल भन्दा तलको भिरवाट सोमवार विहान खसेको पहिरोले पुरिएर सडक अवरुद्ध बनेको हो । करिडोर भन्दा करिब एक सय मिटर माथिवाट खसेको पहिरोले झण्डै ५० मिटर सडक पुरिएको छ । आइतवार विहानदेखि वर्षा नभएपनि सोमवार विहान ८ बजेको समयमा सुख्खा पहिरो खसेको हो ।
निर्माणाधिन अवस्थामा रहेको उक्त सडक विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएपछि रोकिएको ठाउँवाटै पहिरो झरेको हो । पहरो झरेपछि पर्वत खण्डको अर्मादी–मोदीवेणी खण्डको यातायात सेवा अवरुद्ध बनेको छ । उक्त सडक हुँदै चल्ने सवारी साधन मोदीवेणीवाट कुश्माबजार हुुँदै जानुपर्ने अवस्था आएको मोदीवेणी संरक्षण समितिका अध्यक्ष केशबदास बैरागीले जानकारी दिनुभयो ।
भिरको ठुलो भुभागवाट खसेको पहिरो भएपनि कालीगण्डकी नदिको बहाबलाई कुनै असर नगरेको बैरागीले जानकारी दिनुभयो । कालीगण्डकी करिडोर अन्तर्गत फलेवास–अर्मादी खण्डमा रहेका यो सडक विगत सात वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । गत वर्ष ट्रयाक खुलेर सवारीसाधन वारपार हुन थालेपनि सडक स्तरोन्नतीको काम भने पुरा हुन सकेको छैन ।
कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर सुरेन्द्र गौतमले अबरुद्ध बनेको सडक खुलाउनका लागि निर्माण व्यावसायीलाई आग्रह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार केहि दिनमै सडक खुलाउने तयारी भएको छ ।
पहिरोका कारण बडागाउँ–कैया झोलुङ्गे पुल समेत जोखिममा परेको छ ।