पर्वतको फर्सेमा धुमधामका साथ मनाईयो रोपाई मेला - News site from Nepal
पर्वतको फर्सेमा धुमधामका साथ मनाईयो रोपाई मेला

पर्वत १५ असार ः नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ पर्वतको आयोजनामा पर्वतको जलजला गाउँपालिका वडा नं. ८ नाङलीवाङको फर्सेमा रोपाई मेला सम्पन्न भएको छ ।

२१ औँ धान दिवसको अवसरमा आयोजित रोपाई कार्यक्रमलाई सम्वोधन गर्दे कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले नेपाल कृषि प्रधान देश भएपनि विदेशवाट अन्नपात आयात गरेर उपभोग गर्नुपर्ने अवस्था रहेको भन्दै कृषि प्रधान देशलाई व्यवाहरमा परिणत गर्नुपर्ने बताउनुभयो । कृषि उपजमा आत्मनिर्भर बनाउनका लागि सोहि अनुसारका नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री गिरीले कृषि पेशामा लाग्नेहरुलाई राज्यले उचित प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । कृषि पेशा सम्मानित र आत्मसम्मानको पेशा भएको बताउँदै किसानका समस्यालाई पहिचान गरी राज्यले समाधानको प्रयास गर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रको विकासबाट मात्रै मुलुकले समृद्धि हासिल गर्न सक्ने बताउँदै कृषकलाई समयमै मल, विऊ, यान्त्रिकरण, सिंचाईका सुविधा लगायतको सहजता राज्यले प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ ।


उहाँले धानमात्र नभई सवैखालका अन्नवाली उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा मन्त्री गिरीले मिनिटेलरे जोत्नुभएको थियो भने खन्ने, आली लगाउने र धान रोपाईमा पनि सरिक हुनुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी, प्रदेश कमिटि सदस्य खुमप्रसाद सुवेदी, एमाले नेता मेघनाथ सुवेदी, जिल्ला सचिब सुवासचन्द्र पौडेल लगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरु, जनप्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । अखिल नेपाल किसान महासंघ पर्वतका अध्यक्ष सिर्जन पौडेलले कृषिमा आमुल परिवर्तन सहित समाजबादउन्मुख अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाजागाजा सहित नाचगान गर्नुका साथै दहि च्युरा समेत विरतण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!