पर्वत १५ असार ः कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले उपभोक्तामुखि खानेपानी सम्वन्धि कानून निर्माणको आवश्यकता रहेको बताउनुभएको छ ।
गृह जिल्ला पर्वतमा शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १८ औँ साधारणसभालाई शनिवार सम्वोधन गर्दै मन्त्री गिरीले उपभोक्तालाई न्यून महसुल लाग्नेगरी ऐन संशोधनको आवश्यकता देखिएको बताउनुभयो ।
स्वच्छ खानेपानी पाउनु नागरिकको मौलीक हक भएको बताउँदै उहाँले सवै नागरिकलाई सहज रुपमा खानेपानीको पुहँच पुर्याउन सरकार लागिरहेको बताउनुभयो । उहाँले पुराना योजनालाई व्यवस्थित गर्नुका साथै नयाँ योजनाहरुलाई विस्तार गरेर हरेक नागरिकको घरघरमा धारा विस्तार गर्ने योजना सरकारले ल्याएको बताउनुभयो ।
मन्त्री गिरीले खानेपानीका श्रोतहरु सुक्दै जान थालेको अवस्थामा नयाँ श्रोतहरु खोजेर एकीकृत रुपमा आयोजना संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले अहिलेपनि नागरिकले खानेपानीका लागि ठुलो धनराशी खर्चिनुपरेको, गरिब समुदायले धारा जडान गर्नै नसक्ने अवस्था आएको बताउँदै यसको अन्त्य गरिनुपर्ने बताउनुभयो । उपभोक्तालाई शुन्य लागतमा राज्यले पानी उपलव्ध गराउनुपर्ने बताउनुभयो ।
मन्त्री गिरीले सदरमुकाम रहेको कुश्मा नगरपालिकामा बृहद खानेपानी योजना संचालन गर्न आग्रह गर्दै त्यसका लागि तीनै तहका सरकारबीच साझेदारी गर्न सुझाव दिनुभयो । कम्तिमा रु. दुई अब बराबरको योजना निर्माण गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
फरक प्रसंगमा मन्त्री गिरीले बद्मासी गर्ने सहकारी संचालकलाई कारबाहीको दायरमा ल्याउनैपर्ने बताउनुभयो । ऋण लिएर नतिर्नेहरुलाई जसरी बैंकले कालो सूचिमा राख्छ त्यसैगरी सहकारी ठगहरुलाई पनि कालो सुचिमा राखेर राज्यका सेवा सुविधावाट बञ्चित गर्नुपर्ने बताउनुभयो । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि आवश्यक कानून निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँको भनाई छ ।
मन्त्री गिरीले मुलुकमा देखिएको अहिले अवस्थामा छिट्टै सुधार हुने बताउनुभयो । मुलुकको आर्थिक अवस्था विस्तारै लयमा आउँदै गरेको बताउँदै छिटै नेपालीहरुले सुखको स्वास फेर्न पाउने दावी समेत गर्नुभएको छ ।
उहाँले खानेपानी जस्ता पवित्र संस्थाहरुमा राजनीति गर्न नहुने बताउनुभयो । नागरिकलाई खानेपानी उपलव्ध गराउने उद्धेश्यले खोलीएका यस्ता संस्थामा सर्वसम्मत रुपमा सक्षम नेतृत्व चयन गर्न उहाँले आग्रह गर्नुभयो ।
कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले बढ्दो जनसंख्याको चाप सँगै खानेपानीको अभाव पनि थपिँदै जाने बताउँदै नयाँ श्रोतहरु खोजी गरेर नागरिकलाई पानीको सहजता प्रदान गर्न आग्रह गर्नुभयो । कुश्माबजारमा वितरित पानी स्वच्छ रहेको बताउँदै यसलाई कायम राख्न उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, खानेपानी विभागका सिनीयर इन्जिनियर कुलबहादुर पौडेल, नेपाली काँग्रेसका उपसभापति डा. चुडामणी शर्मा, नेकपा एमालेका अध्यक्ष गोविन्द पहाडी लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठले आफ्नो कार्यकालमा भएका संस्थाका गतिविधिबारे प्रस्तुत गर्नुभएको थियो ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।






