मध्य असारसम्म पर्वतमा झण्डै १५ प्रतिशत रोपाई सम्पन्न - News site from Nepal
मध्य असारसम्म पर्वतमा झण्डै १५ प्रतिशत रोपाई सम्पन्न

पर्वत, १४ असार ः मानो खाएर मुरि उब्जाउने महिना असार । यतिवेला पर्वतका ग्रामीण क्षेत्रका कृषकहरुलाई खेतवारीमा धान र कोदो रोपाई गर्न भ्याईनभ्याई छ ।

ढिलो गरी सक्रिय भएको मनसुनपछि कृषकहरु खेतवारीमा व्यस्त हुन थालेका छन् । मध्य असार सम्म आइपुग्दा पर्वतमा झण्डै १५ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ ।

यस वर्ष समयमै वर्षायाम शुरु भएपनि ढिलो गरी सक्रिय भएका कारण वर्षभन्दा केहि ढिलो रोपाई भएको हो । सिंचाईको सुविधा भएका र खोलानालाका आसपासमा रहेका अधिकांस स्थानमा रोपाई शुरु भएको कृषि ज्ञान केन्द्र पर्वतले जानकारी दिएको छ । गत वर्षको यहि समय सम्म २० प्रतिशत रोपाई भएको थियो ।

धेरैजसो स्थानमा मकै थन्काएर धान रोप्ने भएकाले किसानहरु रोपाईको मेलोमा पसेका छैनन् । कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकारी शंकर पौडेलले अनुसार किसानले विस्तारै रोपाईको काम शुरु गरेको बताउनुभयो । ज्ञान केन्द्रका अनुसार जिल्लाको मोदी, जलजला, पैयुँ र फलेवास, महाशिला, र विहादीका खोला किनारका खेतमा धान रोपिएको छ ।

एक साता अघिदेखि मौसम सक्रिय भएपछि रोपाई धमाधम शुरु भएको थियो । जिल्लाको धान उत्पादनको पकेट क्षेत्रमा मकै खेतीपछि धान खेती हुने गरेको छ । खोल्साखोल्सी भएका, मकै खेती नगरिएका, बाँझो छाडिएका, एक बाली मात्रै खेती गरिने जस्ता ठाउँहरूमा जेठको अन्तिम साता वा असारको पहिलो सातादेखि नै रोपाइ हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र पर्वतका वागवानी विकाृ अधिकृत पौडेलका अनुसार गत वर्ष जिल्लाको सात हजार आठ सय हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । यो वर्ष पनि यही क्षेत्रफल बराबरकै रोपाइ हुने अनुमान गरिएको उहाँको भनाई छ । धान खेती हुनेमध्येको ३८ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइको प्रबन्ध रहेको भए पनि त्यो सबै क्षेत्रमा पनि सबै समयमा पानी उपलब्ध नहुने अवस्था रहेको उहाँको भनाइ छ ।

६२ प्रतिशत क्षेत्रफल आकासे पानीमा निर्भर रहनु भनेको आकासे भरोसा नै हो’, उहाँले भन्नुभयो, ‘गत वर्ष करिब २६ हजार ३३ मेट्रिकटन धान उत्पादन भएको हो । पोहोर पनि समयमा नै वर्षा नहुँदा कृषकहरू समस्यामा पर्नुभएको थियो । अहिले पनि अवस्था त्यस्तै बनेको छ । धेरै ढिला हुँदै गयो भने उत्पादनमा ह्रास आउने जोखिम बढ्दै जान्छ ।’

पर्वतको फलेवास नगरपालिका, पैयुँ गाउँपालिका, जलजला गाउँपालिका र कुश्मा नगरपालिकामा धेरै धान उत्पादन हुने गरेको छ । यस क्षेत्रमा सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, यू.एस, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, जेठो बूढो, पहेँले, गुर्दी, एक्ले, खुमल, गौरिया, झिनुवा, बिरमफूल, पोखरेली जेठो बूढो, गुर्जा, लुम्ले, माछापुच्छ्रे, जर्नेली, सुगन्ध, हाइब्रिड लगायतका जातका धान लगाउने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!