पर्वत ः नेपालमा मनसुन सक्रिय भैसकेको छ । पछिल्ला केहि दिन यता विभिन्न जिल्लामा मनसुनजन्य घटनाबाट धनजनको क्षति भैरहेको छ ।
मनुनजन्य विपद् प्रतिकार्यमा जुट्न सुरक्षा निकायलाई सहज होस् भन्ने उद्धेश्यले पर्वतका तीनवटै सुरक्षा निकायलाई कुश्मा नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ ।
कुश्मा नगरपालिका भित्र हुनसक्ने जुनसुकै घटनामा उद्धार तथा घटनावाट बढि क्षति हुन नदिका लागि तीन वटै सुरक्षा निकायलाई रु. एक/एक लाख रुपैया बराबरका सामाग्री उपलव्ध गराउने भएको हो । बुधवार कश्मा नगरपालिकामा सम्पन्न नगरस्तरीय विपद व्यवस्थापन समितिको वैठकले तीन लाख सहयोग गर्ने निणर्य गरेको हो । शसस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीलाई उक्त सहयोग गरिने भएको छ ।
उक्त रकमवाट सुरक्षा निकायलाई अत्यावश्यक सामाग्रीहरु खरिद गरिने जनाईएको छ । विपद जुनसुकै समय र परिस्थितमा घट्न सक्ने भएकाले सुरक्षा निकायलाई पुर्व तयारीमा रहन सहज होस् भन्ने उद्धेश्यले आर्थिक सहयोग गर्न लागिएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।
वैठकले चालु आर्थिक वर्षमा विभिन्न प्रकृतिका विपदवाट क्षति व्यहोरेका नागरिकहरुलार्ई राहत रकम भुक्तानी दिने निणर्य समेत गरेको छ ।
आगालागी, बाढी पहिरो, चट्याङ, असिना, कृषि वालीमा परेको क्षति तथा महामारी जन्य रोगले पशुपंक्षीमा क्षति व्योहोरेका कृषक तथा अन्य पिडितिहरुलाई क्षतिको मुल्यांकनका आधारमा राहत रकम भुक्तानी गर्ने निणर्य गरेको हो । कुश्मा नगरपालिका र वडा कार्यालयहरुमा क्षतिपुर्ति माग गरेर आवश्यक कागजपत्र पुरा गरेका पिडितहरुलाई राहत रकम भुक्तानी दिने निणर्य भएको नगरप्रमुख जोशीले जानकारी दिनुभयो ।
विपदका केहि पुराना घटना पश्चात भएका पुर्ननिर्माणका कार्यको भुक्तानीको विषयमा भने निणर्य भैनसकेको उहाँले बताउनुभयो । वैठकमा नगरप्रमुख जोशी, उपप्रमुख स्वस्थानी रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पोडेल, तीनवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, वडाअध्यक्ष तथा पत्रकार लगायतको सहभागिता रहेको थियो ।
विपदजन्य घटनामा पिडितहरुको लागि नगरपालिकाले उपलव्ध गराउने राहत तथा क्षतिपुर्तिको रकम वितरणमा ढिलाई भएको भन्दै विपद् व्यवस्थापन समितिको वैठक छिटो छिटो बसेर आवश्यक निणर्य गर्नुपर्ने सहभागि वडाअध्यक्षहरुको सुझाव रहेको थियो ।






