पर्वत एमालेको अधिवेशन- प्रतिनिधि छनौट चैत २३ गते एकैदिन हुने  - News site from Nepal
पर्वत एमालेको अधिवेशन- प्रतिनिधि छनौट चैत २३ गते एकैदिन हुने 
पर्वत, १३ चैत ः नेकपा एमाले पर्वतको दशौ जिल्ला अधिवेशन यहि चैत २७ गतेदेखि शुरु हुने भएको छ । अधिवेशनको मिति नजिकिदै जाँदा तयारी समेत तीब्र पारिएको छ ।
अधिवेशनकै सन्दर्भमा मंगलवार सम्पन्न सचिबालय बैठकले विभिन्न निणर्यहरु गरेको छ । वैठकले चैत २० गते सम्म सदस्यता नविकरण गरिसक्न मातहतका वडा कमिटिहरुलाई निर्देशन जारी गर्ने निणर्य गरेको छ भने चैत २३ गते एकैदिन जिल्लाका ६१ वटै वडाकमिटि र पालिका तथा जनसंगठनहरुवाट प्रतिनिधि छनौट गरिने भएको छ । वैठकले प्रतिनिधि छनौटको आधार समेत तयार गरेको छ । जस अन्तर्गत हरेक वडावाट एक दलित, एक महिला र अन्यवाट १ जना गरी तीन जना अनिवार्य प्रतिनिधि हुनेछन् भने यस बाहेक पार्टी सदस्यताको आधारमा गरिने भएको छ । प्रतिनिधि छनौटमा अन्यवाट ५० जना बराबर १ ,  दलित तथा महिलामा ४० जना बराबर १ जना प्रतिनिधि छनौट गर्न सकिने आधार तय गरिएको छ ।
वैठकले अधिवेशन व्यवस्थापनका लागि विभिन्न उपसमितिहरु समेत निर्माण गरेको छ भने आर्थिक योजना समेत बनाएको जिल्ला सचिब गोविन्द पहाडीले जानकारी दिनुभयो । चैत २७ गते अधिवेशनको उद्घाटन गरिने छ । उद्घाटन सत्र सकिए लगत्तै बन्द सत्र र नेतृत्व चयन प्रकृया शुरु हुने उहाँले बताउनुभयो । निर्धारित मितिमै अधिवेशन सम्पन्न गर्ने लक्ष्य रहेको पहाडीले बताउनुभयो । उहाँका अनुसार अधिवेशन उद्घाटनका लागि प्रमुख अतिथिको रुपमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई आमन्त्रण गर्ने निणर्य समेत वैठकले गरेको छ ।
नेकपा एमाले पर्वतमा आगामी नेतृत्वका लागि धेरै नेता आकांक्षी देखिएका छन् । अध्यक्षका लागि अहिले तीन जनाको नाम चर्चामा आएको छ भने पदाधिकारीमा समेत विभिन्न नेताहरुले उम्मेदवारी दिने तयारी गरेका छन् । अध्यक्षमा वर्तमान अध्यक्ष राजु पौडेल, उपाध्यक्ष पदमपाणी शर्मा र सचिब गोविन्द पहाडीको चर्चा रहेको छ ।
जिल्ला अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न वैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री तथा एमाले केन्द्रीय सदस्य पदम गिरीको विशेष उपस्थिति रहेको थियो भने प्रदेश उपसचिब मञ्जु अधिकारी सहित प्रदेश कमिटिका सदस्यहरुको समेत सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!