पर्वत १३ चैत ः लामो समयपछि परेको वर्षासँगैको असिनाले पर्वतको जलजला गाउँपालिका वडा नं. १ बाँसखर्कमा गरिएको ब्यावसायिक सुन्तला खेतीमा ठुलो क्षति पुगेको छ ।
सोमवार दिउँसो परेको असिनापानीले भर्खरै फुल लागेका सुन्तलामा क्षति पुगेको हो । करिब आधा घण्टासम्म निरन्तर परेको असिनाले सुन्तलाका फुल र मुन्टाहरु पुरै झारेको स्थानीय अगुवा कृषक जगतबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार भर्खरै लागेको फुल ६० प्रतिशत भन्दा बढि झरेको अवस्था छ ।
यस वर्ष सुन्तला विक्रिवाट रु. ११ करोड भित्र्याएका बाँसखर्कका कृषकले असिनाको क्षतिले आगामी वर्ष उत्पादन ह्वात्तै घट्ने भन्दै चिन्तित बनेका छन् । यहाँका झण्डै २ सय घरपरिवार व्यावसायिक सुन्तला खेतीमा लागेका छन् ।
त्यसैगरी जलजलाकै लेखफाँट र शालिजामा आलु, जौ, तोरी,र पाक्न थालेको गहुँबाली र किवी खेतीमा क्षति पुगेको स्थानीय कृषकहरुले बताएका छन् । जिल्लाको महाशिला गाउँपालिकामा पनि असिनाले क्षति पुर्याएको छ । स्थानीय जीवन उच्चै ठकुरीका अनुसार कृषकहरुलाई वर्षे बाली लगाउन सहज भएपनि हिउँदेबाली भने नष्ट गरेको बताउनुभयो । उहाँले पाक्ने बेलाको गुहँ, जौ, तोरी र व्यावसायीक रुपमा तरकारी खेती गरेका कृषकहरुलाई ठुलो क्षति पुगेको बताउनुभयो ।
कृषि ज्ञान केन्द्र पर्वतले जिल्लाका विभिन्न ठाउँमा परेको असिनाले बालीनालीमा क्षति पुगेको जनाएको छ । कार्यालयका बागवानी विकास अधिकृत शंकर पौडेलका अनुसार सुन्तला, किवि लगायतका फलफुल र गहुँ, जौ, तोरी, आलुवालीमा असिनाले क्षति पुर्याएको बताउनुभयो । अहिले विभिन्न पालिकाका कृषि शाखामार्फत क्षतिको विवरण संकलनको काम भैरहेको उहाँको भनाई रहेको छ ।
पाक्ने बेलाको गहुँ, तोरी असिनाले झार्दा कृषकलाई बढि मार परेको उहाँको भनाई छ । क्षतिको यकिन तथ्यांक संकलन गरिसकेपछि कृषकहरुलाई आवश्यक राहतका लागि पहल गरिने कार्यालयले जनाएको छ ।






