केहि महिनामै जनताले परिवर्तनको महसुस गर्नेछन ः मन्त्री गिरी - News site from Nepal

पर्वत १२ चैत ः कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले अबको केहि महिनामै नेपाली जनताले मुलुक परिवर्तन भएको महसुस गर्ने बताउनुभएको छ ।

पर्वतको लुंखुदेउरालीमा सोमवार आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गिरिले अघिल्लो गठवन्धन भत्किएर पुर्नगठित सरकार मुलुकका तमाम समस्या समाधानका लागि बनेको बताउनुभयो । उहाँले अर्थतन्त्रलाई लयमा फर्काउनेदेखि लिएर मुलुकमा सुशासन कायम गराउन सरकारलाई मुख्य चुनौती रहेको भन्दै अबको आठ दश महिनामा धेरै कुरा परिवर्तन हुने बताउनुभयो ।

उहाँले सरकारले भ्रष्टाचार न्यूनिकरण र सुशासनको प्रवद्र्धनका लागि आफ्ना कामहरु अघि बढाईसकिएको बताउँदै न्यूनतम साझा कार्यक्रमको सफल कार्यान्वयन गर्नतर्फ अग्रसर भएको दावी समेत गर्नुभयो । मन्त्री गिरीले बढ्दो युवा पलायन रोक्नका लागि उचित युवामैत्री नीति ल्याउनतर्फ आफु लागेको बताउनुभयो । गरिबमैत्री, युवामैत्री, लगानीमैत्री कानून र नीतिकै अभावमा तमाम समस्याहरु पैदा भएको भन्दै अब नागरिकमैत्री ऐन कानून यो सरकारले ल्याउने दावी गर्नुभयो ।

अहिलेको सरकारलाई काम नगरी दिन कटाउने छुट नभएको उहाँले बताउनुभयो । विगतका सरकारले सत्ता टिकाउने खेलमात्र खेलेका कारण मुलुक आज यो अवस्थामा पुगेको भन्दै अब आर्थिक समृद्धि र विकासका लागि सरकारले चार वर्षसम्मै काम गर्ने उहाँको भनाई छ । मन्त्री गिरीले यो सरकार पुरै कार्यकाल सम्म रहने दावी समेत गर्नुभयो । उहाँले लामो समयदेखि विचाराधिन रहेका विधेयकहरु यो सरकारले आवश्यक प्रकृया पुरा गरी धमाधम संसदमा पेश गर्ने र पारित गर्ने बताउनुभयो ।

मन्त्री गिरीले विकास निर्माणमा तीनै तहका सरकारबीच समझदारी आवश्यक रहेको बताउनुभयो । ठुलो योजना संघीय सरकारवाट, मझौला खालका योजना प्रदेश र साना योजना स्थानीय तहवाट कार्यान्वयन गर्न सकेमा मात्र एकीकृत विकास हुने उहाँको भनाई छ ।

आफुलाई दुई दुई पटक सम्म प्रतिनिधिसभामा बिजयी गराएर पठाउने पर्वतवासी नागरिकका चाहना र आवश्यकता पुरा गर्नका लागि हरदम प्रयासमा लागेको उहाँको भनाई छ । उहाँले योजनाहरुलाई प्राथमिकिकरण गरेर बजेट माग गर्न पनि आग्रह गर्नुभयो । सवैभन्दा बढि आवश्यक र धेरै जनताको माग भएका योजनाहरुलाई पहिलो प्राथमिकतामा र कम आवश्यकता भएका योजनाहरुलाई पछि बनाउनेगरी बजेट माग गर्न उहाँले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य मित्रलाल बस्याल, एमाले जिल्ला अध्यक्ष राजु पौडेल, महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी भुसाल, एमाले जिल्ला सचिब गोविन्द पहाडी, युवा नेता जीवन उच्चै ठकुरी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको संचालन महाशिला गाउँपालिकाका लेखा अधिकृत प्रकाश गदालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!