पर्वत, ९ साउन ः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्षायाम लागेपछि रातभरी निद्रा लाग्न छाडेको बताएका छन् ।
ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय पर्वत शाखा र कुश्मा नगरपालिकाको आयोजनामा बुधवारदेखि कुश्मामा संचालित पाँच दिने राजयोग प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री पाण्डेले विपत्को त्रासले रातभर निद्रा लाग्न छाडेको बताए ।
यस वर्षको मनसुन शुरु भएदेखि गण्डकी प्रदेशमा सवैभन्दा बढि मानविय र भौतीक क्षति भएको भन्दै मुख्यमन्त्री पाण्डेले जब रातमा वर्षा हुन्छ अनि भोली विहान कुन जिल्लामा के घटना घट्छ भन्ने भयले मन त्रसित हुने गरेको बताए । उनले प्रदेशवासी नागरिकलाई आवश्यक सतकर्ता अपनाउन आग्रह गर्दै सवै जिल्लामा सुरक्षा व्यवस्थापन चुस्त बनाईएको बताए ।
भारी वर्षापछिको बाढी पहिरोका कारण गण्डकी प्रदेशमा धेरै संख्यामा मानविय क्षति हुनुका साथै पशुचौपाया, घरगोठ, सडक, पुल लगायतका भौतिक संरचनामा क्षति पुगेको बताउँदै उनिहरुको राहत र उद्धारका लागि सरकारले हरदम प्रयास गरेको बताए । उनले जिल्ला जिल्लावाट राहत र उद्धारका सामाग्रीका साथै बजेट माग भैरहेको भन्दै प्रदेश सरकारले आवश्यक सहयोगका लागि पहल गरिरहेको बताए ।
अर्को प्रसंगमा मुख्य मन्त्री पाण्डेले गण्डकी प्रदेशका सवै जिल्लाका विद्यालयमा नैतिक शिक्षाको पढाई संचालन गर्नुपर्ने आवश्यकता देखिएको बताए । पछिल्लो समय परिवार र समाजमा नैतिकता, संस्कार, रितिरिवाज जस्ता प्रचलन हराउँदै गएको भन्दै यसको जगेर्ना गर्नका लागि नैतिक शिक्षा अनिवार्य रुपमा पढाउनुपर्ने आवश्यकता देखिएको बताए । समाजमा दैनिकजसो घटिरहने गैरकानूनी र अपराधिक कृयाकलापको अन्त्य हुन जरुरी छ ।
‘गण्डकी प्रदेशमा दैनिक तीन जना भन्दा बढिले आत्महत्या गर्ने गरेको तथ्यांक देखिन्छ’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो–‘सकारात्मक सोचको विकास नैतिकवान बनाउनका लागि पनि नैतिक शिक्षाको खाँचो रहेको छ ।’ नागरिकरुमा सकारात्मक सोचका विकास गर्दे खुसि नागरिक बनाउनका लागि आध्यात्मिक ज्ञान विस्तारमा जोड दिईने बताए ।
साउन १३ गतेसम्म संचालन हुने योग प्रशिक्षणमा बरिष्ठ राजयोग प्रशिक्षक राजु घलेले सकारात्मक सोच, शान्ति र खुसीको अनुभुति गर्ने विधि, आपसी सम्वन्धमा मधुरता, तनावमुक्त जीवन लगायतका बारेमा प्रशिक्षण दिनुहुने भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, बरिष्ठ योग प्रशिक्षक राजु घले लगायतले सम्वोधन गरेका थिए ।






