पर्वत – पर्वतको फलेवास नगरपालिका वडा नं. १० कुर्घामा एक सय मिटर भन्दा लामो नयाँ गुफा फेला परेको छ ।
कुर्घामा रहेको समथर फाँटको बिचमा गुफा भेटिएको हो । गुफा भित्र पत्थरवाट बनेका विभिन्न नाग देवताका आकृतिहरु, गाई, गाईका थुन र अन्य देविदेवताका आकर्षक मुर्तिहरु समेत भेटिएका छन् । गुफाका हरेक भागमा पत्थरमा नागको मुर्तिहरु प्रसस्त मात्रामा रहेकाले स्थानीयले नाग गुफा नाम राखेका छन् । यहाँभित्र विभिन्न धातुवाट बनेका मुर्तिहरु समेत भेटिएका छन् ।
आजभन्दा २५/३० वर्ष अघिनै गुफा भेटिएको भएपनि स्थानीयले खासै चासो दिएका थिएनन् । सामान्य प्वालजस्तो ठानेर स्थानीयवासीहरुले बेवास्ता गरेको भएपनि पछिल्लो समय स्थानीयले खोजी गर्दा विशाल गुफा भेटिएको भवानीप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार यो गुफा अलौकिक रहेको छ । गुफा भित्र उज्यालो बालेर अवलोकन गर्दा थुपै्र देवीदेवता, नाग नागिनी, गाईका थुन लगायतका प्रसस्त आकृतिहरु रहेका छन् ।
गुफा भेटिएसँगै स्थानीय प्रचार प्रसार र प्रवद्र्धनमा जुटेका छन् । यसलाई पर्याप्त प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्न सक्ने फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो-‘यो गुफा ऐतिहासिक र अलौकिक रहेको छ । गुफा भित्र विभिन्न देवी देवताका आकृतिहरु मात्र नभई घातुवाट बनेका मुर्तिहरु समेत भेटिएकाले यसले पौराणिक र ऐतिहासिक महत्व बोकेको समेत हुन सक्ने भन्दै थप अध्ययन अनुसन्धान समेत गरिने बताउनुभएको छ ।
उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नजिकै पर्ने भएकाले पनि यसले जिल्लाकै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने स्थानीय मेघराज लम्सालले बताउनुभयो । यो गुफाको प्रचार प्रसार र प्रवद्र्धन गर्न सके कालीगण्डकी करिडोर हुँदै भारत र चाईना आवतजावत गर्ने पर्यटकहरुको गन्तव्य बन्ने उहाँको भनाई छ ।
स्थानीयवासीले आगामी नाग पञ्चमीमा गुफामा विशेष पुजाआजा गरी यसको प्रचार प्रसार तथा भौतीक पुर्वाधार निर्माणमा अघि बढ्ने योजना समेत बनाएका छन् । पुर्वाधार निर्माणका लागि समिति निर्माण गरेर तीनै तहका सरकारसँग योजना माग गर्ने समेत तयारी गरेको लम्सालले जानकारी दिनुभयो । अहिले यो जमिन भासिएर बनेको दुलोजस्तो देखिन्छ । यसलाई तत्काल विद्युतीकरण, मन्दिर, सत्तल लगायतका संरचना बनाउनुपर्ने उहाँको भनाई छ ।
पर्वतमै यस अघिदेखि चर्चामा रहेका प्रसिद्ध गुप्तेश्वर गुफा, अलपेश्वर गुफा, लालेश्वर गुफाभित्र जस्तै यो गुफा भित्र पनि थुप्रै देवीदेवताको आश्रयस्थल रहेको हुनसक्ने स्थानीयको अनुमान रहेको छ ।






