पर्वत ८ साउन ः सदरमुकाम कुश्माबजार पछिको दोस्रो ब्यापारिक केन्द्रको रुपमा रहेको दक्षिण पर्वतको हुवास स्थित इलाका प्रशासन कार्यालयको आफ्नै भवन निर्माणका लागि पैंयुँ गाउँपालिकाका बासिन्दाले निःशुल्क जग्गा प्रदान गरेका छन् ।
भाडाको घरमा संचालन हुँदै आएको इलाका प्रकाशन कार्यालयलाई आफ्नै भवन निर्माणका लागि आवश्यक जग्गा खोजी भैरहेका बेला पैंयुँ गाउँपालिकाका वडा नं. ४ हुवास स्थित मर्दिखोलाका बासिन्दाले निःशुल्क प्रदान गरेका हुन् ।
स्थानीय पाँच जनाले भवन निर्माणका लागि आवश्यक एक रोपनी, तीन पैसा, १ दाम बराबरको जग्गा निःशुल्क सहयोग गरेका हुन् । स्थानीय गौरी आलेले तीन आना एक दाम तीन पैसा, चन्द्रीमाया आले र अम्वरबहादुर आलेले ४ आना, अमृत बहादुर आलेले तीन आना तीन पैसा दुई दाम, सहबीर आलेले एक आना तीन पैसा एक दाम, र कमलकुमारी आलेले तीन आना दुई पैसा तीन दामको गरी कुल एक रोपनी, तीन पैसा एक दाम बराबरको जग्गा सहयोग गरेको जिल्ला प्रशासन कार्यालय पर्वतका प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।
शर्माका अनुसार अहिले इलाका प्रशासन कार्यालय भाडाको घरमा संचालन हुँदै आएको छ । तत्कालीन द्धन्द्धकालमा विस्थापित भएको कार्यालय संघीयता कार्यान्वयन संगै २०७३ सालमा पुर्नस्थापना भएको थियो । भाडाको साँघुरो घरमा संचालन गर्दा सेवाग्राहीलाई सेवा लिन समस्या हुँदै आएको थियो ।
इलाका प्रशासन कार्यालयको आफ्नै भवन बनाउनका लागि कार्यालयसँगै, वडा कार्यालय र पैंयुँ गाउँपालिकाले समेत जग्गाका लागि पहल गर्दै आएका थिए । कार्यालयको आफ्नै नाममा जग्गा प्राप्ति भएपछि अब भवन निर्माणका लागि प्रकृया अघि बढ्ने प्रशासकिय अधिकृत शर्माले बताउनुभयो ।
लमो समयदेखिको प्रायसपछि स्थानीयवासीले स्वःत स्फुर्त रुपमा कार्यालयको भवन निर्माणका लागि जग्गा उपलव्ध गराएको पैंयू गाउँपालिका वडा नं. ४ का अध्यक्ष टुकलाल न्यौपानेले बताउनुभयो । उहाँका अनुसार झण्डै रु. एक करोड मुल्य बराबरको जग्गा स्थानीयले निःशुल्क दिएका हुन् ।
इलाका प्रशासन कार्यालय हुवासका प्रमुख लिलाबल्लभ काफ्लेले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयकै पत्राचारपछि एक वर्षदेखि जग्गा खोजी भैरहेकोमा अहिले आएर पुणर्ता पाएको बताउनुभयो । उहाँले अहिले मासिक रु. ३० हजार रुपैया भाडा तिरेर प्रशासन कार्यालय संचालन हुँदै आएकोमा आफ्नै भवन निर्माण पछि थप सहजता हुने बताउनुभयो ।
उक्त जग्गाको लालपुर्जा जग्गा धनिहरुले स्थानीय पैंयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी, वडा अध्यक्ष टुकलाल न्यौपाने सहितको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई गत बिहीवार हस्तान्तरण गरेका थिए । इलाका प्रशासन कार्यालय हुवासवाट जिल्लाका महाशिला, पैंयु र बिहादी गाउँपालिकाका १७ वटा वडाका बासिन्दाले सेवा लिँदै आएका छन् ।






