फलेवासमा महिला हिंसा र जलवायु परिवर्तन सम्वन्धि जनचेतनामुलक सडक नाटक प्रदर्शन - News site from Nepal

महेश भुसाल
पर्वत– पर्वतको फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा महिला हिंसा विरुद्ध गिती नाटक र जलवायु परिवर्तनले पार्ने असर सम्वन्धि सचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको छ ।
मोती सामुदायिक पुस्तकालयमा संचालित टेक ऐज गल्स ट्याग परियोजना अन्तर्गत ट्याग किशोरिहरुको आयोजनामा वडा नं. ४ मुडिकुवा र वडा नं. ६ राहलेमा नाटक प्रदर्शन गरिएको हो ।
समाजमा अझैपनि महिला हिंसा अन्त्य हुन सकेको छैन । महिला विरुद्धको हिंसालाई सामान्य वा स्वभाविक घटना मान्ने सामाजिक सोच र मान्यतालाई चुनौती दिँदै यसको समुल उन्मुलनका लागि जनचेता फैलाउनुका साथै पछिल्ला केहि वर्ष यता जलवायु परिवर्तनले नेपालमा पार्दै गएको प्रभाव, वातावरणीय विनास, भुक्षय, बाढिपहिरो जस्ता विपद्सम्वन्धि घटनाको न्यूनिकरण गर्नका लागि जनचेतना फैलाउने उद्धेश्यले नाटक प्रदर्शन गरिएको मोती सामुदायिक पुस्तकालय फलेवासले जनाएको छ ।


नाटक प्रहसनमा कलाकारहरुले बढ्दै गएको वन विनास र औद्योगिकरणको विकासले जलवायु परिवर्तनमा पारेको असर र यसलाई न्यूनिकरण गर्दै जलवायु अनुकुलनका लागि अपनाउनुपर्ने उपायका बारेमा अभिनय गरेका थिए । उनिहरुले वन सम्पदाको संरक्षण, विकास निर्माणका काम गर्दा वातावरणीय संरक्षणलाई ध्यान दिनुपर्ने लगायतका विषयमा समेत जानकारी गराएका थिए ।

त्यस्तै सम्भावित घटनावाट जोगिनका लागि गर्नुपर्ने पुर्वतयारी र यसका लागि राज्यका विभिन्न निकायको भूमिका र सक्रियताका बारेमा पनि नाटकमा उल्लेख गरिएको थियो । साथै कलाकारहरुले समाजमा घटदै गएका महिला हिंसाको न्यूनिकरणका लागि अबलम्वन गर्नुपर्ने उपाय र यसले पारेका प्रभावका बारेमा पनि प्रहसन गरेका थिए ।
ट्याग गल्र्सहरुले नाटकमा अभिनय गरेका थिए । सडक नाटक प्रदर्शन कार्यक्रममा फलेवास ६ का वडा अध्यक्ष नविन कुमार श्रेष्ठ, वडा नं. ४ का कार्यवाहक वडा अध्यक्ष देवशर्मा लम्साल, मोती सामुदायिक पुस्तकालयका लाईब्रेरियन इन्द्र सापकोटा लगायतले बोल्नुभएको थियो ।

कार्यक्रमा जनप्रतिनिधि, समाजसेवी, शिक्षक, विद्यार्थी लगायतको बाक्लो उपस्थिति रहेको थियो । दुवै स्थानमा भएको कार्यक्रमको संचालन ट्याग गल्र्स नेपालका संयोजक रमा पोखरेलले गर्नुभएको थियो । सो अवसरमा किशोरी तथा महिलाहरुलाई सेनीटरी प्याड पनि वितरण गरिएको थियो । कार्यक्रमका लागि रिड नेपाल र रिड ग्लोवलको पनि सहयोग रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!