पर्वत ७ साउन ः नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा पर्वतमा प्रतिक्षालय निर्माण गरिएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ स्थित पर्यटकीय स्थल बडागाउँमा प्रतिक्षालय निर्माण गरिएको हो । नेकपा एमाले पर्वतले आफ्नै कार्यकर्तासँग आर्थिक सहयोग संकलन गरेर प्रतिक्षालय निर्माण गरिएको जनाएको छ ।
कालीगण्डकी र मोदीखोलामाथि रहेका अग्ला र लामा पुल, प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल मोदीवेणीधामको प्रवेशद्धार नजिकै प्रतिक्षालय बनाईएको हो । गर्मीयाम होस् वा वर्षायाममा पुल घुम्न आउने, मोदीवेणीधाममा मेला भर्न तथा शब दाहसंस्कार गर्ने तथा फलेवास र बागलुङको बलेवा क्षेत्रवाट कुश्माबजारतर्फ आउने पैदलयात्रीलाई मध्यनजर गर्दै प्रतिक्षालय निर्माण गरिएको नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो । उहाँका अनुसार झण्डै रु. एक लाख ५० हजार रुपैयाको लागतमा प्रतिक्षालय निर्माण गरिएको हो ।

पार्टीका संस्थापक नेताको योगदान भावि पुस्तासम्म पनि पुगोस भन्ने उद्धेश्यले श्रेष्ठको स्मृतिमा प्रतिक्षालय निर्माण गरिएको अध्यक्ष पहाडीले बताउनुभयो । यसैबीच पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवसको अवसरमा सोमवार उक्त प्रतिक्षालयकमो उद्घाटन गरिएको छ ।
नेपालका कम्युनिष्ट पार्टी पर्वतका संस्थापक तथा पुष्पलाल श्रेष्ठसँग लामो समय सहकार्य गरेका ८४ वर्षिय तोयानाथ चालिसेले प्रतिक्षालयको उद्घाटन गर्नुभएको हो । सो अवसरमा चालिसेले आफु र पुष्पलाल श्रेष्ठले भारतको बनारसमा विताएका दिनचर्याका साथै तत्कालीन समयमा उहाँमाथिको दमन र हत्याको बारेमा चर्चा गर्नुभएको थियो । चालिसेले श्रेष्ठको सपनालाई पुरा गर्नका लागि नेकपा एमाले सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा पर्वतका अध्यक्ष गोबिन्द पहाडी, उपाध्यक्ष बिमल लामिछाने सचिब सुवासचन्द्र पौडेलले लगायतले बोल्नुभएको थियो । सो अवसरमा प्रतिक्षालय परिषरमा विभिन्न प्रजातिका विरुवाहरु समेत रोपण गरिएको थियो । उक्त स्थानलाई पुष्पलाल बाटिकाको रुपमा विकास गर्नेगरी विभिन्न फुलहरु रोपण गरिएको हो ।
१९८१ असार १५ गते रामेछापको भङ्गेरीमा जन्मिनुभएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । जनताका पक्षमा अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालले २००६ वैशाख १० मा भारतको कोलकाताको श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।
श्रेष्ठको स्मृतिमा पर्वतका सातवटै पालिकामा नेकपा एमालेका पालिका स्तरीय कमिटिले विभिन्न कार्यक्रम गरेका छन् भने एक कार्यकर्ता एक विरुवा रोपण अभियान समेत संचालन गरिएको एमाले पर्वतका सचिब सुवासचन्द्र पौडेलले बताउनुभयो ।






