५९ औं अन्तराष्ट्रिय जातीय भेदभाव तथा रंगभेद उन्मुलन दिवसमा पर्वतमा अन्तरक्रिया सम्पन्न - News site from Nepal

पर्वत- ५९ औं अन्तराष्ट्रिय जातीय भेदभाव तथा रंगभेद उन्मुलन दिवसको अवसरमा पर्वतको कुश्मामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नगर दलित संजाल कुश्माको आयोजना तथा कुश्मा नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम बिहिवार सम्पन्न भएको हो ।
कार्यक्रम बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम बिकले जातीय विभेद अपराधीक कार्य भएको बताउदै जातीय विभेद गर्नेलाई कानुनी कारबाहीमा ल्याउनुपर्ने बताउनुभयो । कसैले पनि जातका आधारमा विभेद गर्न नहुने बताउदै संविधानमा व्यवस्था भएका दलित हक अधिकारलाई व्यवहारिक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा कुश्मा नगर दलित संजाल कुश्माका सल्लाहकार निर्मल नेपालीले दलितका लागि नेपालको संविधानमा भएको व्यवस्था, हक, अधिकार , नेपालमा जातीय छुवाछूत तथा दलित मुक्ति आन्दोलन र उपलब्धिहरु, राज्यसत्तामा दलितको अवस्था र संजालका चुनौतीहरु समावेश गरिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कानुन र बोलीमा मात्र अन्त्य भएको भनिएको नेपाली समाजमा कलंकको रूपमा रहेको जातीय विभेद तथा छुवाछूतको व्यवहारिक रुपमा जरैदेखि अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । नेपालको संविधान २०७२ मा भएका व्यवस्था र नीतिगत प्रावधानहरुको कार्यान्वयन गर्न सामाजिक न्याय, समावेशीकारण र जातीय आत्मसम्मानको सवाललाई संस्थागत गर्नुपर्ने कार्यपत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी,पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल भुसाल, कुश्मा नगरपालिकाका १४ वटै वडाका दलित अगुवा, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,जनप्रतिनिधि, दलित अधिकारकर्मी, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति रहेको थियोे ।
अन्तरक्रिया कार्यक्रम सुरु हुनु अगाडि विशाल जनसहभागितामा र्‍याली गरिएको थियो । र्‍यालीमा जातीय विभेदको अन्त्य गरौं, सम्पुर्ण दलितहरू एक हौं, दलित एकता जिन्दावाद लगायतका नारा लगाएर कुश्मा बजार परिक्रमा गरिएको थियो ।
नगर दलित संजाल कुश्माका अध्यक्ष जित बहादुर बिकको अध्यक्षता,सचिव डम्बर विश्वकर्माको स्वागत मन्तव्य र कार्यक्रमको संचालन संजालका सल्लाहकार टेक बहादुर परियारले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!