पर्वत ९ चैत ः राष्ट्रिय सभाका पुर्व अध्यक्ष तथा नेकपा एमालेका नेता गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधिहरुले जनता र आफ्नो पार्टीको हितमा काम गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा एमाले कुश्मा नगरकमिटि पर्वतले आयोजना गरेको जनप्रतिनिधि र पार्टी कार्यकर्ताबीचको अन्तरक्रिया कार्यक्रमलाई शुक्रवार सम्वोधन गर्दै नेता तिमिल्सिनाले नेकपा एमालेवाट निर्वाचित तीनै तहका जनप्रतिनिधिले पार्टीको नीति र सिद्धान्त अनुसार काम गर्न आग्रह गर्नुभयो । जुनसुकै पद र ओहोदामा पुगेपनि त्यसको मुख्य देन एमाले हो भन्ने नविर्सन आग्रह गर्दै पार्टीलाई अहित हुने गतिविधि नगर्न समेत सुझाव दिनुभएको छ ।
विकासका ठूला योजनाहरु पालिका र वडा स्तरबाट गर्न सम्भव नहुने भन्दै जनताको स-साना समस्याको सम्बोधन, दैनिक सेवा प्रवाह, जनता प्रत्यक्ष लाभान्वित हुने लोकप्रिय कार्यक्रमहरु वडाले संचालन गर्नुपर्नेमा जोड दिनुभयो । अहिलेको शासन व्यवस्थालाई बलियो बनाउने जग भनेको स्थानीय सरकारका जनप्रतिनिधि रहेको भन्दै उहाँले इमान्दार भएर जनताको सेवामा लाग्न सुझाव दिनुभयो ।
पर्वतको विकास र समृद्धिका लागि आफू राष्ट्रियसभाको अध्यक्ष हुँदा धेरै कामहरु गरेको स्मरण गराउँदै उहाँले त्यतिवेलाका प्रतिवद्धता पुरा गरेरै छाडिने बताउनुभयो । सरकार प्रतिकुल हुँदा सोचेअनुसार काम गर्न नसकेको भन्दै अहिले बनेको नयाँ गठवन्धनले मुलुक र जनताका चाहाना पुरा गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । स्थानीय पार्टी कमिटीले जनप्रतिनिधिहरुलाई निरन्तर रुपमा निर्देशित गर्ने,योजना बनाउने र जनताको गुनासालाई सम्बोधन गर्न सहजीकरण गर्नुपर्ने दायित्व भएको उहाँको भनाई थियो । जनप्रतिनिधि र पार्टीबीचको सम्वन्धलाई बलियो बनाउने यस्ता कार्यक्रमलाई सकारात्मक रुपमा लिन उहाँले आग्रह गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा निर्वाचित वडाध्यक्ष, सदस्यहरु, पार्टी कमिटीका अध्यक्ष तथा कार्यकर्ताहरुले वडा स्तरमा भएका समस्या र विकास योजनाका वारेमा जानकारी गराएका थिए । उनीहरुले जनताको अपेक्षा धेरै भएको र पालिकाको सीमित स्रोतधानले सम्बोधन गर्न कठिनाई भएकाले योजना र बजेटका लागि प्रदेश र संघ सरकारसँग आवश्यक सहजीकरण गरिदिन पार्टीको नेतृत्व र प्रदेश सांसद सँग अनुरोध गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज कल्पना चापागाई, प्रदेश कमिटि उपसचिब मञ्जु अधिकारी लम्साल, जिल्ला अध्यक्ष राजु पौडेल, प्रदेश सांसदद्धय भक्त कुँबर, मित्रलाल बस्याल, जिल्ला उपाध्यक्ष पदमपाणी शर्मा लगायतले सम्वोधन गर्नुभएको थियो ।
नेकपा एमाले कुश्मा नगरकमिटिका अध्यक्ष मिनप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष किशोर सापकोटा र संचालन सचिब गणेश पौडेलले गर्नुभएको थियो ।
यस अघि पर्वतका अन्य ६ वटा पालिकामा यस्तै खालको अन्तरक्रिया सम्पन्न भैसकेका छन् ।
यस अघि पर्वतका अन्य ६ वटा पालिकामा यस्तै खालको अन्तरक्रिया सम्पन्न भैसकेका छन् ।






