पार्टीभित्रकै एकता अहिलेको आवश्यकता ः काँग्रेस सभापति देउवा  - News site from Nepal
पर्वत- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलापको विकल्प नभएको बताएका छन् ।
नेपाली काँग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई सोमवार पर्वत सदरमुकाम कुश्माबजारमा सम्वोधन गर्दै सभापति देउवाले काङ्ग्रेसका नेता कार्यकर्ताहरुबिच मेलमिलाप हुन आवश्यक रहेको बताए । नेता कार्यकर्ताहरु एकजुट भएमात्र पार्टी बलियो हुने उनको भनाई थियो । ठुलो त्याग र बलिदानपछि आज नेपाली काङ्ग्रेस मुलुकको पहिलो शक्ति बनेको बताउँदै देउवाले एकतावद्ध काङ्ग्रेसलाई दुनियाँको कुनै शक्तिले पनि हराउन नसक्ने उनको दावी छ ।
ठुलो दलमा सवैले एकैपटक नेतृत्व पाउन मुस्किल हुने भन्दै सभापति देउवाले भने ‘निरन्तर लाग्ने नेताहरु अवसरवाट बञ्चित हुन पर्दैन ।’ उनले काङ्ग्रेसलाई बलियो बनाउन सवै एकजुट हुनुपर्नेमा जोड समेत दिए ।
उनले भने ‘अहिलेको अवस्थामा हाम्रा साथीहरुबिच मेलमिलाप हुन जरुरी छ । अधिवेशनमा प्रतिस्पर्धा हुन्छ, जित र हार हुन्छ । आज जित्नेले पनि भोलि सधैँ जितिरहिन्छ भन्ने हुँदैन । जित्नेले हार्ने साथीसँग सहयोग लिने, हार्नेले जित्नेलाई सहयोग गरेको खण्डमा अहिले आपसमा रहेको समस्यालाई भोलिका दिन मेलमिलाप गर्न सहयोग पुग्नेछ ।’
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री शशांक कोईरालाले मुलुकलाई धर्म निरपेक्षतावाट हटाउनुपर्ने बताए । धर्म सापेक्ष वा निरपेक्ष केहि पनि नहुने भन्दै कोईरालाले धर्म स्वतन्त्र हुने समेत बताए ।
उनले नेपाली काङ्ग्रेस समेत सहभागि भएको वर्तमान सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन सक्नुपर्नेमा जोड दिए । मुलुकमा देखिएको भ्रष्टाचार र महंगीलाई हटाउँदै  जनतालाई राहतको अनुभूति दिन सकेमा मात्र पार्टी समेत बलियो हुँदै जाने उनको भनाई रहेको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले जनतालाई नेपाली काँग्रेस एकजुट भएमा कुनैसँग गठवन्धन गर्नुपर्ने अवस्था नआउने बताए । उनले काँग्रेसलाई गाली गर्न छाडेर सहयोग गर्न आग्रह गर्दै कुण्ठा बोकेर पार्टी बलियो नहुने बताए । टिकट खोज्नेहरु कार्यक्रममा नआएको भन्दै जो निष्ठावान कार्यकर्ता छन् ती मात्र आएको भने ।
त्यसैगरी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आफुले अवसर नपाउँदैमा पाटी कमजोर बनाउन नहुने भन्दै देउवाले अहिलेसम्म आफुलाई मन्त्री बन्न चासो नदेखाएको गुनसाो गरे । भण्डारीले देश विकास नहुनुको कारण खोजेर विकासका आयामहरुको खोजी गर्नुपर्ने धारणा राखे  । उनले दिन दिनै युवाहरु वैध र अवैध बाटोबाट देश छोडेर विदेशीएको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने धारणा राखे ।
नेता भण्डारीले काङ्ग्रेसले प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भनेर बस्न नहुने भन्दै त्यो समयमा काँङ्ग्रेस चुनावमा गएको भए दुई तिहाई बहुमत ल्याउने समेत बताए । उनले एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा प्रतिनिधि सभा विघटन गरेको विषय प्रतिगमन नभएको स्पष्ट पार्दै  जनताका वीचमा जाने कुरा प्रतिगमन नभएको र त्यो बेलामा कांग्रेस चुनावमा जानुपर्ने कुरामा चुकेको समेत उल्लेख गरे । कार्यक्रममा नेता भण्डारीले आगामी पुस्ताले विकासको खोजी गरेको भन्दै देशका अव विकासको बहस हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे, केन्द्रीय सदस्य किरण पौडेल, शारदा पौडेल, उर्मिला थपलिया, नेपाली काँग्रेस गण्डकी प्रदृेशका उपसभापति मेखलाल श्रेष्ठ, गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द्र जोशी, तरण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, गण्डकी प्रदेश सदस्य यामबहादुर मल्ल, पुर्व पार्टी सभापति नबराज गुरुङ, खिमप्रसाद भुसाल, फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारी, तरुण दलका केन्द्रीय सदस्य मुना भुसाल, दलित संघका जिल्ला अध्यक्ष याम परियार शिव लगायतले बोल्नुभएको थियो ।
नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपसभापति डा. चुणामणी शर्मा र संचालन सचिबद्धय गुप्तनिधि शर्मा र  अशोक उच्चै ठकुरीले गर्नुभएको थियो ।
सो अवसरमा नेपाली काँग्रेसलाई विभिन्न क्षेत्रवाट योगदान पुर्‍याउनेहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!