पर्वत– आन्तरिक शान्ति र खुसीयाली जीवनका लागि पर्वतमा पाँच दिने राजयोग मेडिटेशन कार्यक्रम हुने भएको छ ।
ब्रम्माकुमारी इश्वरीय विश्वविद्यालय कुश्मा शाखाको आयोजना र कुश्मा नगरपालिकाको सहआयोजनामा साउन ९ गतेदेखि १३ गतेसम्म कार्यक्रम आयोजना गरिएको हो । कुश्मास्थित युनिभर्सल पार्टी प्यालेसमा हुने कार्यक्रमको गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुहुने भएको छ ।
समाजमा बढ्दै गएको नैतिकताको पतन, युवा वर्गमा विकराल बन्दै गएको दुव्र्यसन–कुलत साथै पुरातन धर्म, संस्कृतिको नाममा आएको सामाजिक एवम् धार्मिक विसंगति र विकृति तथा तडकभडकवाट पर्न गएको सामाजिक समस्यालाई न्यूनिकरण गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो ।
पाँच दिनसम्म संचालनहुने प्रशिक्षणमुलक मेडिटेशनको बरिष्ठ राजयोग प्रशिक्षक राजु घलेले गर्नुहुने भएको छ । प्रशिक्षणमा आध्यात्मिक एवं मानव कल्याणकार िचिन्तन अन्तर्गत अत्यन्तै शिक्षकमुलक विषयमा प्रशिक्षण गर्नुहुने भएको छ । स्वप्रवन्धन नेतृत्व विकास, तनावमुक्त जीवन, सम्पुर्ण योग्य जीवन, सम्पुर्ण स्वास्थ्य एवं खुशिपुर्ण जीवन, सकारात्मक जीवनशैली, मुल्यनिष्ठ शिक्षाघारा स्व सशक्तिकरण, लागु पदार्थ दुव्र्यसन उन्मुक्ति शिक्षा आदि विषयमा सहजीकरण गरिने भएको छ ।
हरेक दिन दुई सत्रमा कार्यक्रम संचालन हुने भएको छ । पहिलो सत्र दिउँसो साढे १२ बजेदेखि साढे २ बजे सम्म र सन्ध्याकालीन सत्र साँझ साढे ४ बजेदेखि साढे ६ बजेसम्म संचालन हुने भएको छ । गण्डकी प्रदेश स्तरीय यो कार्यक्रममा जुनसुकै उमेर समुह र पेशा व्यावसायका नागरिकहरुले पनि सहभागिता जनाउन पाउने भएका छन् ।
कार्यक्रमको जानकारी तथा प्रचारप्रसारका लागि आइतवार आयोजित पत्रकार सम्मेलनमा कुश्मा शाखाकी संचालिक ब्रम्हाकुमारी राधिका बरालले कार्यक्रमको तयारी तथा व्यवस्थापनका बारेमा जानकारी दिनुभएको थियो ।
पत्रकार सम्मेलनमा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले वर्तमान समयमा यस्ता खालका प्रशिक्षणमुलक कार्यक्रम अत्यावश्यक रहको कुरालाई मध्यनजर गर्दै नगरपालिकाले पनि सहकार्य गरेको बताउनुभयो । उहाँले उक्त मेडिटेशनमा सहभागि हुन सम्पुर्ण पर्वतवासीहरुलाई आग्रह गर्नुभएको छ । स्वच्छ र सुन्दर समाजको निर्माणका लागि राजयोग मेडिटेशनमा सवै नागरिकहरु सहभागि हुनुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले पाँच दिनसम्म आयोजित बृहद कार्यक्रमलाई सफल बनाउनका लागि जिल्लामा क्रियाशिल सम्पुर्ण संचारकर्मी र नेपाल पत्रकार महासंघले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सामाजिक समस्या र जिल्लामा आत्महत्या लगायत गैरकानूनी क्रियाकलाप बढ्दै गएको बेला यो कार्यक्रम निकै फलदायी हुने उहाँको भनाई छ ।
साउन ९ गते विहान ब्रम्हकुमारी विश्व विद्यालय कुश्मा शाखादेखि विहान १० बजे शुरु हुने शोभा यात्रा कार्यक्रम स्थलमा पुगेर मुल समारोहमा परिणत हुने भएको छ । उद्घाटन कार्यक्रम लगायत सोहि दिनको प्रशिक्षण समेत शुरु हुने भएको छ ।






