पर्वत, १ साउन ः राजश्व संकलनको दायरलाई फराकिलो र सर्वसुलभ बनाउन पर्वतको एक पालिकाले वडा कार्यालयवाटै संकलनको व्यवस्था गरेको छ ।
दक्षिण पर्वतको पैंयुँ गाउँपालिकाले मातहतका सातवटै वडा कार्यालयवाट राजश्व संंकलन गर्न थालेको हो । नागरिकहरुलाई सहज रुपमा कर तिर्ने व्यवस्थाका लागि आर्थिक वर्ष वि.सं. २०८१/०८२को पहिलो दिन आज मंगलवारदेखिनै वडा कार्यालयवाट कर संकलन गर्न थालिएको प्रमुख प्रशासकिय अधिृकत राजीव रिमालले जानकारी दिनुभयो । रिमालका अनुसार आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा समेत राजश्व संकलनको दायरालाई फराकिलो बनाई, सम्पत्ति कर र भूमिकर, संकलन गर्ने कार्य वडावाटै गरिने उल्लेख गरिए बमोजिम आजदेखिनै वडावाट संकलनको व्यवस्था मिलाईएको हो ।
पालिकाबासीले कर बुझाउनका लागि गाउँपालिकाको कार्यालयमा पुग्नुपर्ने अवस्थाको अन्त्य गर्नु र कर बुझाउनु नागरिकको दायित्व हो भन्ने अनुभूति दिलाउनका लागि वडाबाटै यस्तो व्यवस्थापन गरिएको हो । गाउँपालिकाले सुचना जारी गर्दै पालिकाभित्रका सात वटै वडा कार्यालयबाटै सम्पत्ति तथा भूमिकर (घरजग्गाको कर) तिर्ने ब्यवस्था मिलाएको प्रमुख प्रशासकिय अधिकृत रिमालले जानकारी दिनुभयो ।
‘आगामी आर्थिक बर्ष ०८१/०८२ का लागि सम्पत्ति तथा भुमिकर वडा कार्यालयहरुबाट संकलन गर्ने ब्यवस्था मिलाइएको हुँदा साउन एक गतेदेखि सम्बन्धित वडा कार्यालयहरुमा गई कर बुझाउन सुचना निकालिएको छ’ रिमालले भन्नुभयो -‘अब पालिकामा धाउनुपर्ने बाध्यता हटेको छ ।’
राजश्व संकलनका लागि वडा कार्यालयहरुलाई समेत प्रविधिमैत्री बनाईएको छ । सवै वडा कार्यालयमा पर्याप्त कम्प्युटर, इमेल इन्टरनेट र दक्ष जनशक्तिको व्यवस्थापन गरिएकोले अनलाईन प्रणालीवाटै राजश्व संकलन तथा रसिद जारी गरिने पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो ।
पालिकाको समृद्धि र विकासका लागि आन्तरिक आम्दानीमा जोड दिएको पालिकाले वडावाटै संकलन हुन थालेपछि राजश्व समेत बृद्धि हुने अपेक्षा गरेको छ । पालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक आम्दानीतर्फ रु. ५७ लाख रुपैया संकलन हुने अपेक्षा गरेको छ । अपेक्षा अनुसार राजश्व लगायत अन्य सेवा शुल्क र सिफारीस दस्तुर संकलनलाई व्यवस्थित गर्न लागिएको अध्यक्ष ठकुरीले बताउनुभयो ।
पालिकावासी नागरिकलाई कर तिर्न सास्ती पाउने अवस्था हटाउँदै हरेक वडामा सम्पत्ति र भुमिकर भुक्तानीको ब्यवस्था मिलाइएको भन्दै यसले अन्य शुल्क र आम्दानीको पारदर्शिता समेत बढ्ने अपेक्षा गरिएको छ । अनलाईनवाटै भुक्तानी हुने र रसिद जारी गर्ने भएपछि आर्थिक पारदर्शिता बढ्ने प्रमुख प्रशाकिय अधिकृत रिमालले बताउनुभयो ।
जिल्लाका अन्य ६ वटा पालिकामा भने सम्पत्ती र भूमि कर पालिकाको मुख्य कार्यालयमै पुगेर भुक्तानी गर्नुपर्ने अवस्था रहेको छ । पैंयुँले पहिलोपटक वडा कार्यालयवाट यो सेवा शुरु गरेको हो ।






