पर्वतमा यो वर्ष क्षयरोगका ५५, एचआइभीका १३ र कुष्ठरोगका ६ सङ्क्रमित थपिए - News site from Nepal

पर्वत : चालु आर्थिक वर्ष २०८०/०८१ मा पर्वत जिल्लामा क्षयरोगका ५५ जना, एचआइभी एड्सका १३ जना र कुष्ठरोगका ६ जना नयाँ बिरामीहरू थपिएका छन्।

स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माका अनुसार गत वर्षको साउनदेखि हालसम्मको अवस्थामा यी सङ्क्रमितहरू थप भएका हुन्। आर्थिक वर्ष २०७९/०८० मा क्षयरोगका कुल ७७ जना नयाँ बिरामीहरू फेला परेकोमा चालु आर्थिक वर्षमा भने यो सङ्ख्या घटेर ७७ मा झरेको हो। थपिएकाहरू मोदी गाउँपालिकाका ६ जना, जलजला गाउँपालिकाका २ जना, कुश्मा नगरपालिकाका १५ जना, फलेवास नगरपालिकाका ४ जना, महाशिला गाउँपालिकाका २ जना, बिहादी गाउँपालिकाका ५ जना र पैयुँ गाउँपालिकाका २१ जना रहेका छन्।

कार्यालय प्रमुख शर्माले क्षयरोग एक सङ्क्रामक रोग भएको बताउँदै यसले प्रायः फोक्सोलाई असर गर्ने बताए। सङ्क्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा वा थुक्दा यो हावाबाट सर्ने भएकाले यसको कुनै पनि शङ्का भएमा तुरुन्तै स्वास्थ्य संस्थामा जानुपर्ने उनको सुझाव छ। जिल्लामा भेटिएका सङ्क्रमितहरूलाई नियमित रूपमा औषधि सेवन गराइएको भन्दै उनले लगातार छ महिनासम्म औषधि खाए रोग पूर्ण रूपमा निको हुने जानकारी दिए।

‘औषधि निःशुल्क रूपमा पाइन्छ तर लापरबाही गरेर बिचैमा औषधि छाड्ने वा भाग्ने गरेमा ड्रग रेसिस्टेन्स हुन्छ। त्यो अवस्थामा उसले अरूलाई रोग सारेमा अरूलाई पनि औषधिले काम नगर्ने गरी सङ्क्रमण फैलिन्छ’, कार्यालय प्रमुख शर्माले भने, ‘यो अवस्थामा औषधिले काम नगर्ने भएकाले कोही पनि सङ्क्रमितले नछुटाई नियमित रूपमा औषधि खाएको हुनुपर्छ। हाम्रो उद्देश्य भनेको ६ महिनाभित्रमा नै निको पार्नु हो।’

जिल्लामा अघिल्लो आर्थिक वर्षसम्म एक सय १२ जनामा एचआइभी एड्सको सङ्क्रमण रहेकोमा चालु आर्थिक वर्षमा थप १३ जना सङ्क्रमित भएका छन्। उनीहरू जलजला गाउँपालिकामा १ जना, कुश्मा नगरपालिकाका ५ जना, फलेवास नगरपालिकाका ४ जना र पैयुँ गाउँपालिकाका ३ जना रहेका छन्।

एचआइभीको शङ्का भएकाहरू कोही पनि खुलेर नआउने र पुष्टि भएकाहरूलाई घरमा नै लगेर औषधि दिने गरिएको छ। यो क्षेत्रमा विभिन्न सङ्घ संस्थाहरूले पनि काम गर्दै आएकोमा पर्वतमा भने ‘कम्युनिटी सपोर्ट ग्रुप’ नामक संस्थाले एचआइभी एड्सको क्षेत्रमा काम गरिरहेको छ।

सङ्क्रमितहरूको कुनै पनि विवरणहरू बाहिर नल्याई उहाँहरूको उपचार चलिरहेको तथा यसमा निगरानी र सहयोगको काम ‘ग्रुप’ का प्रतिनिधिहरूले पनि गरिरहेको शर्माको भनाइ छ। उनीहरूले सरकारबाट निःशुल्क रूपमा औषधि सेवन गर्नुपर्ने र त्यो जीवनभर खाइरहनुपर्ने उनको भनाइ छ।

यस्तै यो वर्षमा थपिएका कुष्ठरोग मोदी गाउँपालिकामा १ जना, जलजला गाउँपालिकामा ४ जना र फलेवास नगरपालिकामा १ जना रहेका छन्। अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा मात्रै जिल्लामा १५ जना कुष्ठरोगका बिरामीहरू फेला परेका थिए। कुष्ठरोगको औषधि पनि सरकारले निःशुल्क रूपमा नै उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!