साईकलचोक-बुमि-ठुलीपोखरी सडक कालोपत्रे गर्ने बजेट माग्न मन्त्रालयमै पुगे ठुलीपोखरीवासी  - News site from Nepal
पर्वत, ३१ जेठ ः सदरमुकाम नजिकै भएपनि ओझेलमा परेको पर्वतको कुश्मा नगरपालिका वडा नं. १० र १२ मा पर्ने साईकलचोक-बुमि-ठुलीपोखरी सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारसँग बजेट माग गरिएको छ ।
ट्रयाक खोलेको दुई दशकभन्दा बढि अवधिसम्म स्तरोन्नती समेत हुन नसकेको सडक कालोपत्र गर्न माग गर्दै स्थानीयले गण्डकी प्रदेश सरकारका भौतीक पुर्वाधार तथा यातायात मन्त्री राजीव गुरुङलाई मागपत्र पेश गरेका हुन् । झण्डै ४० जनाको संख्यामा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा पुगेका स्थानीयवासीको टोलीले मन्त्री गुरुङलाई भेटेर लागत इन्टिमेट सहितको मागपत्र पेश गरेका हुन् ।
उक्त सडक खण्ड अन्तर्गत कुश्मा नगरपालिका वडा नं. १० पन्चिसेदेखि कुश्मा गरपालिका वडा नं. १२ ठुलीपोखरीको पौडेलचोकसम्म स्तरोन्नती तथा कालोपत्र गर्न बाँकी रहेको छ । झण्डै चार किलोमिटर उक्त सडक कालोपत्रका लागि रु. पाँच करोड बजेट माग गर्दै वडा नं. १२ का वडा अध्यक्ष झलक रिमाल नेतृत्वको टोली  मन्त्रालय पुगेको हो ।
ठुलीपोखरीवासीको मागपत्र बुझ्दै मन्त्री गुरुङले आगामी आर्थिक वर्षको बजेटमा उक्त आयोजना समावेश गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मन्त्री गुरुङले बहुबर्षे योजनामा राखेर आगामी आर्थिक वर्षको बजेटमा कुल लागतको ५० प्रतिशत बजेट बिनीयोजन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
अधिकांस योजनाका फाईलहरु नेता तथा सांसदहरुले बोकेर आउने गरेको भन्दै मन्त्री गुरुङ्गले सर्वसाधारण आफै मन्त्रालयमा आएर माग गरेको योजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले आफ्नो सचिबालयलाई उक्त सडक योजना प्राथमिकता साथ बजेटमा राख्न आग्रह गर्नुभयो । गण्डकी प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट सार्वजनिक गर्ने भएको छ ।
साईकलचोक-बुमि-ठुलीपोखरी सडक मध्यपहाडी लोकमार्गको बैकिल्पक सडकको रुपमा समेत प्रयोग गर्न सकिन्छ । दोविल्ला-फलेवास सडक खण्ड अन्तर्गत कुश्मा नगरपालिका वडा नं. ९ साईकलचोकदेखि वडा नम्वर १० पिपलटारीको पन्चिसेसम्म यस अघि नै विभिन्न चरणमा कालोपत्रे भैसकेको छ । अब झण्डै चार किलोमिटर सडक कालोत्रपे भएमा उक्त सडक हुँदै स्याङजाको नौडाँडाँमा पुगेर पोखरा-स्याङ्जा-बुटवल जोड्ने सिद्धार्थ राजमार्गमा पुग्न सकिन्छ ।
साविक धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङवाट स्याङ्जा, पाल्पा, बुटबल जाने सवारीसाधनले यो सडक प्रयोग गरेमा झण्डै दुई घण्टा छिटो गन्तव्यमा पुग्न सक्ने कुश्मा नगरपालिका वडा नं. १२ का अध्यक्ष झलक रिमालले बताउनुभयो । उहाँले जुनसुकै अवस्थामा पनि यो सडक कालोपत्रे गर्नुको विकल्प नभएको बताउनुभयो । यो सडक कालोपत्रे भएपछि कुश्माबाट १५ मिनेटमै ठुलीपोखरी पुग्न सकिने उहाँको भनाई छ ।
मध्यपहाडी लोकमार्ग र सिद्धार्थ राजमार्ग जोड्ने बैकल्पिक छोटो सडक भएकाले यसलाई प्राथमिकतामा राखेर बजेट बिनीयोजन गर्न माग गरिएको स्थानीय हेमराज सापकोटाले बताउनुभयो । आफुहरुको मागका सम्वन्धमा सम्वन्धित मन्त्रि र मुख्यमन्त्री समेत सकारात्मक रहेको उहाँको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!