पर्वतमा संचालित स्वास्थ्य शिविरमा साढे दुई सय छातीरोगीको निःशुल्क उपचार  - News site from Nepal
पर्वत –  पर्वतमा एकैदिन साढे दुई सय जना छाती सम्वन्धी रोग भएका बिरामीहरुको निशुल्क स्वास्थ्य उपचार गरिएको छ ।
जाडो मौसमसँगै छातीसम्वन्धि रोगीहरुको संख्या उल्लेख्य मात्रामा बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै संचालन गरिएको एक दिने छाती रोग सम्वन्धि शिविरमा २ सय ४५ जनाको परिक्षण गरिएको हो । पर्वत अस्पतालमा संचालन गरिएको एक दिने शिविरमा उपचारका लागि गाउँ गाउँदेखि बिरामी आएका थिए ।
बिरामीहरुको मणिपाल शिक्षण अस्पताल तथा ओम हस्पिटल प्रालि पोखराका बरिष्ठ छातीरोग विशेषज्ञ डा. सिपी आचार्यले उपचार गर्नुभएको थियो । उपचार गराएकाहरुमध्ये ८० जना बिरामी थप परिक्षण गर्नुपर्ने खालका भेटिएको पर्वत अस्पतालका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो । बिरामीहरुलाई निःशुल्क एक्सरे, इसिजी, रगत परिक्षण गर्नुका साथै औषधी समेत निःशुल्क वितरण गरिएको थियो ।
एक दिने शिविरवाट लामो समय छाती सम्वन्धि समस्या भएका र आर्थिक अभावका कारण उपचार गर्न नसक्ने विपन्न असहाय तथा बृद्धबृद्धाहरु लाभान्वित भएको गिरीले बताउनुभयो । शिविर संचालनका लागि पर्वत जेसीज र इनरह्वील क्लव अफ पर्वतले पनि सहयोग गरेका थिए ।
यस अघि शिविरको उद्घाटन गर्दै संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले जटिल खालका रोगीहरुका लागि विशेषज्ञयुक्त उपचार सेवाको अभावमा जिल्लावासीहरु अझै समस्यामा रहेको बताउनुभयो । उहाँले यस्ता खालका शिविर समयसमयमा संचालन गर्नुपर्नेमा जोड दिँदै पर्वत अस्पताललाई थप सुविधायुक्त बनाउन प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आर्थिक रुपमा विपन्नहरुलाई यस्ता शिविरले ठुलो राहत मिल्ने समेत बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ छाती रोग विशेषज्ञ डा. सिपी आचार्यले अझैपनि नागरिक तहमा स्वास्थ्यसम्वन्धि चेतना अभिबृद्धि भैनसकेको बताउँदै रोग लागेर जटिल अवस्था आएपछि मात्र उपचार गर्ने बानीलाई सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले लक्षण देखिनेवित्तिकै उपचार गराउन सकेमा भविष्यमा ठुलो जोखिम नआउने बताउँदै व्यक्तिगत सुरक्षामा ध्यान पुर्‍याउन आग्रह गर्नुभयो । आफुले दैनिक ५० देखि ६० प्रतिशत बिरामी यहि क्षेत्रको हेर्ने गरेको स्मरण समेत गर्नुभयो ।
कार्यक्रममा पर्वत जेसीजका अध्यक्ष  मिलन पौडेल, इनरह्वील क्लव अफ पवर्तका अध्यक्ष मिना जोशी लगायतले बोल्नुभएको थियो । कार्यक्रम पर्वत अस्पतालका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!