ढुसीको प्रकोप पिडित पर्वतका कृषकलाई निःशुल्क विषादी वितरण - News site from Nepal

पर्वत –  ढुसीजन्य रोगको प्रकोपवाट पिडित बनेका पर्वतका कृषकलाई निःशुल्क औषधी वितरण गरिएको छ ।

पर्वतका कृषकले लगाएको धानवालीमा ढुसी जन्य रोगले नष्ट गर्न थालेपछि रोकथाम गर्न निशुल्क विषादि वितरण गरिएको हो । धान रोपको महिनादिनपछि धानका जरा कुहिने (फुट रुट) र पात पँहेलिने (सेट ब्लाईट)को प्रकोप फैलिएपछि कृषकहरु पिडित बनेका थिए ।

गाँज राख्ने बेलाका धानवालीमा प्रकोप फैलिएर खेतनै खाली हुन थालेपछि नमुना संकलन गरि क्षेत्रीय बालिविज्ञान प्रयोगशालामा पठाईएकोमा जरा कुहिने र डढुवा रोग लागेको पुष्टि भएको थियो । यो ढुसीजन्य रोगका कारण फैलिएको प्रकोप भएको पुष्टि भएपछि कृषकलाई तत्काल नियन्त्रणका लागि आवश्यक मात्रामा औषधि वितरण गरिएको फलेवास नगरपालिका कृषि शाखाका प्रमुख केदार सापकोटाले जानकारी दिनुभयो ।

फलेवास नगरपालिकाको कृषि शाखा, कृषि ज्ञान केन्द्र पर्वतवाट र प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना धान जोन ईकाई बागलुङवाट पर्याप्त मात्रामा औषधी र औषधी छर्नका लागि आवश्यक यन्त्र उपकरण तथा तालिम प्रदान गरिएको हो । कृषकहरुलाई तत्कालका लागि बेभिष्टिन, भेलिडामाईसिन, वम्पर वोनस जस्ता विषादी वितरण गरिएको थियो ।

प्रयोगशालावाट आएको रिपोर्टका आधारमा जिल्लाका सवै कृषकहरुलाई विषादि सिफारीस गरिएको कृषि ज्ञान केन्द्र पर्वतका बाली संरक्षण अधिृकत सोविता सुवेदीले जानकारी दिनुभयो । विषादीको प्रयोगसँगै कृषकलाई विषादी हालेपछि अपनाउनुपर्ने अन्य उपायका बारेमा समेत अभिमूखिकरण गरिएको छ ।

कृषि ज्ञान केन्द्र पर्वतका बाली संरक्षण अधिकृत सोबिता सुवेदीले बिऊको उपचार नगरीकन लगाईएका कारण धानवालीमा ढुसी रोग फैलिएको बताउनुभयो । धानले गाँंज राख्ने बेलामा रोग फैलिएकाले तत्काल उपचार गर्नका लागि विषादी वितरण गरिउको छ । अब कृषकले विषादीसँगै बाली जोगाउनका लागि रोगि बोट तत्कालै हटाउने, साँझ ४ बजेपछि विषादी छर्किनुपर्ने, पानीको निकास दिनुपर्ने, नाईट्रोजन युक्त मलको प्रयोग गर्न नहुने सुझाव दिएको बताउनुभयो ।

फलेवास नगरपालिका वडा नं. ९ भँगरामा मात्रै ९० रोपनी क्षेत्रफलमा गरिएको पोखरेली जेठो बुढो धानखेतीमा ढुसी र फट्यांग्राले नष्ट गरेको स्थानीय कृषक लोकप्रसाद काफ्लेले बताउनुभयो । ठुलो लगानी गरेर धान खेती गरेपनि समयमै रोग लागेर नष्ट गरिदिएको उहाँको गुनासो रहेको छ । विषादी प्रयोग गरेपछि रोगकिराको प्रकोप न्यूनिकरण हुँदै गएको उहाँको भनाई छ ।

रैथाने जातका धान र खुमल-४ तथा जेठो बुढो धान लगाएका ठाउँमा ढुसीको प्रकोप बढि देखिएको थियो । जिल्लाको झण्डै एक हजार रोपनी भन्दा बढि क्षेत्रफलमा लगाईएको धानवालीमा प्रकोपको समस्या देखिएको थियो । सवै ठाउँमा पर्याप्त विषादी वितरण गरिएकाले अब थप क्षति हुन जोगिनुका साथै धानवाली समेत सप्रिदै जाने अपेक्षा गरिएको नगर कृषि सञ्जाल फलेवासका संयोजक बिनोद भुसालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!