तरकारी र च्याउ खेती गरेर बार्षिक दश लाख रुपैया आम्दानी गर्दै सावित्री - News site from Nepal

पर्वत- पर्वतको जलजला गाउँपालिका-८,फर्सेकी सावित्री खत्रीले व्यावसायिक च्याउ खेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।

कृषि पेशाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत १० बर्षदेखि ब्यवसायिक कृषि खेतीमा सक्रिय खत्रीले च्याउन र तरकारी खेतवाट बर्षेनी रु. १० लाख रुपैया भन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ । तीन वटा गुम्वज टनेलमा कन्ये र गोब्रे च्याउखेती उत्पादन गरी छिमेकी जिल्ला बागलुङ, म्याग्दी र पर्वतको कुश्मा बजारमा खपत गर्ने गरेको अगुवा कृषक खत्रीको भनाई छ । च्याउवाट मात्रै रु. छ लाख भन्दा बढि आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

‘च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छु,उत्पादित च्याउको बिक्रीका लागि कुनै समस्या छैन’ कृषक खत्रीले भन्नुभयो । गोब्रे च्याउको प्रति केजी रु. पाँच सय र कन्येलाई रु.२ सयमा बिक्री गर्ने कृषक खत्रीले गोब्रे च्याउबाट यस वर्ष रु.चार लाख ५० हजार र कन्ये च्याउबाट रु.डेढ लाख आम्दानी भएको बताउनुभयो ।

कच्चा पदार्थ सहितका साम्रागी समेत तयार गर्ने गर्नुभएकी कृषक खत्रीले सात रोपनी जमिनमा उत्पादन हुने अन्य तरकारीवाट रु. चार लाखको बिक्री गर्नुहुन्छ । च्याउ बाहेक मौसम अनुसार काक्रो, घिरौला, बोडी, सिमी, करेला, भेण्टा, खुर्सानी, धनिया लगायतका तरकारी समेत उत्पादन गर्दै आउनुभएको छ ।

तीनवटै जिल्लाका सदरमुकाम नजिकै रहेको र कालीगण्डकी करिडोर अन्तर्गत मालढुंगा-बेनी सडक नजिकै रहेकाले उत्पादित च्याउ र तरकारी बजारीकरणमा समस्या नरहेको उहाँले बताउनुभयो । ‘हाइटेक टनेल थपेर बाह्रै महिना च्याउ खेती गर्ने लक्ष्य छ,च्याउखेतीका लागि गाउँका कृषकलाई पनि सीप हस्तान्तरण गर्ने गरेकी छु’ कृषक खत्रीले भन्नुभयो ।्

सामाजिक एवम् राजनीतिक रुपमा समेत सक्रिय रहनुभएकी खत्रीले राम्रो उत्पादन दिने र श्रमिक पनि कम लाग्ने हुँदा च्याउखेतीलाई थप विस्तार गर्ने योजना रहेको बताउनुभयो । बैदेशिक रोजगारीबाट फर्किनुभएका श्रीमान भिमबहादुर केसीले समेत च्याउ र अन्य तरकारी खेतीको उत्पादन र बजारीकरणमा समेत सघाइरहनुभएको छ ।

खेती गर्नलाई धेरै ठुलो ठाउँ, समय पनि नचाहिने र बेच्नलाई सजिलो भएकाले यसप्रति श्रीमानले बिदेश नगईकन सघाउन थालेको खत्रीले बताउनुभयो । मिहेनत गर्ने हो श्रीमानले बिदेमा कमाउने पैसा दुवै मिलेर यहिँ दुःख गर्ने हो भने कमाउन सकिने खत्रीको अनुभव छ ।

पछिल्लो समय जलजला गाउँपालिकामा व्यावसायिक रुपमा लाग्ने कृषकको आर्कषण बढेको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो । ‘गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, अवका दिनमा च्याउ खेतीमा अनुदान समेत बढाउँछौ’ आचार्यले भन्नुभयो ।

च्याउ एक बहुउपयोगी खाद्य पदार्थ हो । च्याउमा तरकारी तथा मासुमा पाईने सबै प्रकारका प्रोटिन तत्वहरु पाइने र सजिलैसँग पचाउन सकिने भएकाले बच्चादेखि वृद्धवृद्धाहरुका लागि अति उपयोगी छ । च्याउमा पानीको मात्रा ९० प्रतिशत पाइने हुनाले यो एकदम महत्वपूणर् मानिन्छ । च्याउ क्यान्सर, मुटुरोगजस्ता रोगहरू लाग्नबाट बचाउँछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!