
पर्वत, २८ असार ः निरन्तरको वर्षाका कारण पहिरोले पुरिएर अवरुद्ध बनेको पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड सुचारु भएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारामा गएराती एक बजे खसेको पहिरोले सडक अवरुद्ध बनेको थियो । विहानैदेखि जेसिवी र सुरक्षाकर्मी परिचालन गरेर केहि बेर अघि सडक सुचारु भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । वर्षायाम शुरु भएपछि ससह्रधारमा मात्र पहिरोले सात पटक सडक अवरुद्ध बनेको ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाले जानकारी दिनुभयो ।
बिहीवार पनि सोहि पहिरोका कारण सडक अवरुद्ध बनेको थियो । सडक सुचारु भएसँगै रातीदेखि अलपत्र बनेका सवारीका साधनहरु गन्तव्यतर्फ लागेका छन् ।
बुधवार राती पर्वतकै कुश्मा नगरपालिका वडा नं. १ नयाँपुलमा गएको पहिरो बिहीवार दिउँसो तीन बजे एकतर्फि खुलेको थियो । सो स्थानमा अहिलेपनि एकतर्फि नै सवारी संचालन भैरहेको र पुणर् रुपमा खुलाउन केहि समय लाग्ने प्रहरीले जनाएको छ ।
भारी वर्षापछिको बाढीपहिरोका कारण जिल्लाका अधिकांस ग्रामीण सडकहरु पनि अवरुद्ध छन् ।