पर्वतको सेतीखोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न, परिक्षण शुरु - News site from Nepal

पर्वत- दक्षिण पर्वतको पैंयुँ र विहादी गाउँपालिकामा निर्माण गरिएको सेतीखोला जलविद्युत आयोजनाको काम सम्पन्न भएको छ ।
पर्वत पैयुँखोला हाइड्रो पावर कम्पनीले निर्माण गरेको ३ दशमलब ५ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाको काम हालै सम्पन्न भएको हो । आयोजनाले सोमवारदेखि परिक्षण समेत थालिसकेको छ । २०७५ सालदेखि निर्माण शुरु भएको आयोजनको काम ५ वर्षमा सकिएको हो । यो आयोजनाको मुहान पैंयुँ गाउँपालिका वडा नं. २ वेउलीवासको छचन्नेमा रहेको छ भने विद्युत गृह विहादी गाउँपालिका वडा नं. ६ शालिग्रामको घाङ्ग्रेमा रहेको छ । छचन्नेदेखि ३ हजार ६ सय मिटर लामो पाईपलाईन मार्फत घाङ्ग्रेमा रहेको पावरहाउमा पानी खसालिएको छ ।
आयोजनाको इलेक्ट्रोमेकानिकल काम चाईनाको एशियन प्यासिफक प्रोजेक्ट कम्पनीले गरेको थियो भने पाईपलाईनको काम के एण्ड के विल्डर्स विराटनगरले गरेको हो । आयोजनको शिभिल वर्क तर्फको निर्माणकार्य द ब्रोदर्श विल्डर्स काठमाण्डौले गरेको पर्वत पैंयुँखोला हाईड्रोपावर कम्पनीका सचिब डा. शिवशंकर बस्यालले जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिकरण वाट विसं २०७४ मा उत्पादन अनुमतिपत्र लिएको आयोजनाले दुई वर्ष भित्र उत्पादन गर्ने अवधि भएपनि कोरोना संक्रमण र बाढी पहिरोका कारण समायावधि दुई वर्ष थप गरिएको थियो । ‘झण्डै पाँच वर्षको अवधिमा निर्माणकार्य सम्पन्न गर्‍यौ’ बस्यालले भन्नुभयो ।
यो आयोजनावाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारण लाईनमा जोड्नका लागि प्राधिकरणसँग पिपिए सम्झौता समेत भैसकेको उहाँले बताउनुभयो । अबको दुई साता भित्र राष्ट्रिय प्रशारण लाईनमा जडान गरिने समेत तयारी भैरहेको बस्यालले बताउनुभयो ।
यो आयोजना निर्माणका लागि सिद्धार्थ बैंक लिमिटेड र गरिमा बिकास बैंकको संयुक्त लगानी रहेको छ । हालसम्म आयोजना निर्माणका लागि रु. १ अर्ब १० करोड रुपैया खर्च भैसकेको आयोजनाका सचिब बस्यालले जानकारी दिनुभयो ।
यसैबीच सोमवारदेखि परिक्षण उत्पादन थालेको आयोजनाले घाङग्रे-लुंखु प्रशारण लाईनको ३३/११ केभीए प्रसारण लाइनमा परीक्षण थालेको पैंयुँखोला हाईड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष राजकुमार बस्यालले जानकारी दिनुभयो । आयोजनाले परीक्षण अवधिभर महाशिला गाउँपालिकाको वडा नं. १, ३ र ५, पैँयु गाउँपालिकाको वडा नं. १ र ३ एवं विहादी गाउँपालिका को वडा नं. ६ मा रहेको प्रसारण लाइन, पोल खम्वा आदि नछुन, टाढा हुन र सावधानी रहनुहुन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!