पर्वत, २९ जेठ ः जिल्लाको एकमात्र सुविधासम्पन्न पर्वत अस्पतालले विशेषज्ञ सुविधा दिन थालेको छ । १५ शैयावाट ५० शैयाको क्षमतामा स्तरोन्नती भैरहेको पर्वत अस्पतालले विशेषज्ञ सुविधा समेत थप गरेपछि उपचारका लागि छिमेकी जिल्ला पोखरा र काठमाण्डौ जानुपर्ने बाध्यता कम हुने भएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीका अनुसार कन्सल्टेण्ट मेडिकल जलरलिष्ट सेवा, जनरल सर्जन सेवा र स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा विस्तार गरिएको हो । अस्पतालमा विशेषज्ञ चिकित्सकको पदपुर्ति भएपछि सुविधापनि विस्तार गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
अस्पतालबाट अबदेखि मेडिसिन, सर्जिकल सम्वन्धि सम्पुणर् सेवाहरु चौविसै घण्टासम्म उपलव्ध हुने भएको छ । यसका लागि डा. हेमन्त बास्तोला र डा. मिलन अबालेले सेवा दिनुहुने भएको छ । त्यसैगरी जनरल सर्जन सेवा तर्फ डा. शिशिर देवकोटाले सेवा दिनुहुने भएको छ । अब पर्वत अस्पतालमै शरीरमा गाँठागुठी भएका, पाईल्स, फिस्टुला, हाईड्रोसिल, हर्निया, एपेण्डिसाईटिस लगायतका विभिन्न शल्यक्रिया सेवा नागरिकले पाउने भएका छन् ।
अस्पतालका अनुसार डा. सन्तोषी थपलिया सरुवा भएर आएपछि स्त्री तथा प्रसुति रोगको विशेषज्ञ सेवा पनि थप गरिएको छ । स्त्री तथा प्रसुती सम्वन्धि सम्पुणर् समस्याको अव जिल्लामै उपचार सेवा पाईने अस्पतालले जनाएको छ । यो सेवासँगै जटिल अवस्थाका बिरामीहरुलौई पनि अन्य जिल्ला रिफर गर्नुपर्ने अवस्था नआउने अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. हेमन्त बास्तोलाले बताउनुभयो ।
अस्पतालले यस अघि गत चैतदेखि उपचारका लागि आउने बिरामीहरुको सहजताका लागि बहिरंग सेवा १२ घण्टा संचालन गर्दै आएको छ । पहिला विहान १० बजेदेखि साँझ पाँच बजेसम्म संचालन गर्दै आएकोमा चैत्र अन्तिम सातादेखि ५ घण्टा थप गरी १२ घण्टासम्म ओपिडी सेवा संचालन गर्दै आएको छ । दिउँसोमा मात्र ओपिडी सेवा संचालन गर्दा बिहान बेलुका बिरामीहरुले निजि क्लिनिकमा गएर औषधोपचार गर्नुपर्ने बाध्यता बढेको गुनासो चुलिएपछि विहान ७ बजेदेखि साँझ ७ बजे सम्मनै अोपिडी सेवा संचालन गर्न थालिएको अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो ।
अहिले थप गरिएका सेवाहरु पनि बहिरंग विभागमा १२ घण्टा र अन्तरंग विभागमा चौविसैघण्टा उपलव्ध हुने डा. बास्तोलाले जानकारी दिनुभयो । विहानदेखि साँझ अवेरसम्म सेवा शुरु गर्दा दैनिक मजदुरीमा जानेहरूदेखि शिक्षक र कर्मचारीहरूले स्वास्थ्य परीक्षण गराउन थप सहज भएको उहाँको भनाई छ । विशेषगरी मजदुर, कर्मचारी, शिक्षक लगायतको सुविधाका लागि यो सेवा शुरु गरिएको हो । पर्वत अस्पतालले बिहान र बेलुकाको समयमा समेत ‘ओपिडी’ सेवा सुरु गरेपछि दिवा सत्रमा स्वास्थ्य सेवा लिन समस्या भोग्दै आएकाहरूलाई पनि राहत हुने उहाँले बताउनुभयो ।






