पैंयु गाउँपालिकाको प्रशासकीय भवन अध्यक्ष ठकुरीद्धारा उद्घाटन - News site from Nepal

पर्वत- स्थापना कालदेखि भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको दक्षिण पर्वतको पैयुँ गाउँपालिका शुक्रवारदेखि आफ्नै भवनमा सरेको छ ।
पैयूँ गाउँपालिका वडा नम्बर ४ स्थित भकुण्डे बगरमा निर्माण सम्पन्न भएको प्रमुख प्रशासकिय भवनको आज भब्य कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी (राज)ले उद्घाटन गर्नुभएको हो ।
०७८ साउन ९ गते गाउँपालिकाका तत्कालिन अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले शिलन्यास गरी निर्माण सुरु भएको भवन पुरा भएपछि शुक्रवार औपचारिक रुपमा नयाँ भवनबाट कार्यालय शुभारम्भ गरिएको हो । साढे तीन तला रहेको लिफ्टको सुविधासहितको अत्याधुनिक भवनमा ३८ वटा कोठा रहेका छन् ।


प्रमुख प्रशासकिय भवनमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, न्यायिक समितिको इजलास, आर्थिक प्रशासन, स्वास्थ्य, शिक्षा, कृषि, पशु, सहकारी, सामाजिक शाखा, प्रशासन, प्राविधिकलगायत विषयगत शाखाका अलगअलग कार्यकक्ष तयार भएका छन् ।

स्थानीयबासीबाट निशुल्क रुपमा प्राप्त भएको १२ रोपनी क्षेत्रफलमा फैलिएको भवन पाँच करोड ४८ लाख ४८ हजार नौ सय ९० रुपैयाँको लागतमा निर्माण भएको गाउँपालिकाले जनाएको छ । भवन नहुँदा प्रशासकिय लगायत शाखागत कामहरु गाउँपालिकाले भाडाको घरबाट सञ्चालन गर्दै आएको थियो । मासिक रुपमा एक लाखबढी खर्च भवन भाडामा भएपनि त्यो रकम अव बचत हुने गाउँपालिकाका अध्यक्ष ठकुरीले बताउनुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ठकुरीले गाउँपालिका अव भौतिक रुपमा सक्षम भएकोले गाउँपालिकाकाबासीको हर सेवा र समस्यालाई समाधान गर्न उत्तिकै ध्यान दिएर लाग्ने उद्घोष गर्नुभयो । स्रोत र साधनको अभावका बाबजुद पनि जनताको आधारभुत आवश्यकता पुरा गर्दै अगाडी बढ्नुका साथै प्राप्त असल अभ्यास र सुझावलाई ग्रहण गर्ने प्रतिबद्धता अध्यक्ष मल्लले कार्यक्रममा राखेका थिए ।

कार्यक्रममा बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङ, महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुसाल, गाउँपालिकाका पूर्वअध्यक्ष खगेन्द्रप्रसाद तिवारी, उपाध्यक्ष यामकुमारी राना, पैयूँ गाउँपालिकाका पूर्वउपाध्यक्ष जसमति गुरुङ, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, नेकपा एमाले पर्वतका अध्यक्ष गोबिन्द पहाडी, नेकपा माओबादी केन्द्र पर्वतका अध्यक्ष उमाकान्त भुर्तेल, जिल्ला समन्वय अधिकारी कमल पुन, जग्गादाता धनबहादुर राना, डिगबहादुर राना लगायतले बोलेका थिए ।

कार्यक्रममा सात वटै वडाबाट विभिन्न झाकीसहित ठुलो मात्रामा नागरिकको उपस्थिति रहेको थियो । प्रमुख प्रशासकिय अधिकृत राजिव रिमालद्धारा सञ्चालित कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारबाट विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा भवन निर्माणका लागि जग्गा निशुल्क प्रदान गर्ने जग्गादातालाई सम्मान पत्रबाट सम्मान गरिएको थियो ।

भवन विवेक एण्ड कुवेर विल्डर्स स्याङ्जाले निर्माणको जिम्मा पाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!