पर्वत, २५ असार ः पर्वतको जलजला गाउँपालिका-८ को खनीयाघाट-दमुवाखोला-नाग्लीवाङ सडक स्तरोन्नति गरिएको छ ।
वि.स. २०६४ मा मार्ग खोलिएको यो सडक गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको साझेदारीमा सोह्र वर्षपछि स्तरोन्नति भएको हो ।
गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको ५०/५० प्रतिशत लागत साझेदारीमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति गरिएको जलजला-८ का वडा अध्यक्ष हरिविकास जिसीले बताउनुभयो ।
“साघुरो र अप्ठ्यारो सडक तथा घुम्तिलाई फराकिलो बनाएर पर्खाल र नाली निर्माण गर्नुका साथै सडक ढलान भएको छ,” उहाँले भन्नुभयो “दमुवाखोला देखि नाग्लीवाङ सम्मको तीन किलोमिटर भित्रको सडकलाई स्तरोन्नति गरिएको हो ।”
सडक विस्तार, नाली र पर्खाल निर्माणका साथै ढलानका लागि रु. दुई करोड बजेट बिनियोजन भएको यस आयोजना निर्माणका लागि २०८० मंसिर महिनामा साहना-सक्षम जेभीले रु. एक करोड ३३ लाख ५५ हजार दुई सय १८ मा ठेक्का सम्झौता गरेको थियो ।
गाउँपालिकाका प्राविधिक बिगनेस रेग्मीका अनुसार ५ सय ६४ मिटर ढलान, नाली, एक सय ५ घनमिटर पलम पर्खाल, एक सय ३० घनमिटर ग्यावीयन पर्खाल निर्माण भएको छ । यसअघि चार मिटर फराकिलो सडकलाई विस्तार गरेर छ देखि सात मिटर फराकिलो बनाइएको छ ।
सडक स्तरोन्नति भएपछि स्थानीयबासीलाई आवत जावत गर्न, कृषि उपज ढुवानी गर्न, निर्माण सामग्री तथा दैनिक उपभोग्य सामान आपुर्ति गर्न सहज भएको छ । अप्ठ्यारो ठाउँको सडक ढलान, फराकिलो बनाएपछि यात्रावअधि छोटिएको, सहज र सुरक्षित भएको स्थानीयबासी सोम जिसीले बताउनुभयो ।
यसअघि गाउँपालिकाको रु. पचास लाख बजेटमा अप्ठ्यारो ठाउँमा पाँच सय मिटर सडक ढलान गरिएको थियो । नाग्लीवाङ र छिमेकी वडा बनौका एक हजार भन्दा बढी घरधुरीले यो सडक प्रयोग गर्दै आएका छन् । राष्ट्रिय राजमार्ग कालीगण्डकी कोरीडोरमा पर्ने दमुवाखोला देखि नाग्लीवाङ हुदै लुप्राङ जोड्ने यो सडक ११ दशमलब ५ किलोमिटर लामो छ ।
सडक पूणर् रुपमा स्तरोन्नतिका लागि रु. ४८ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर स्रोतको खोजी गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । प्रदेश र संघीय सरकारसँग सडक स्तरोन्नतिका लागि योजना र बजेट प्रस्ताव गरेको गाउँपालिकाले जनाएको छ ।