विहादीका सामुदायिक स्कुलको शैक्षिक गुणस्तर सुधारमा अध्यक्ष गुरुङको सक्रियता - News site from Nepal

पर्वत- सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर निजि विद्यालय तर्फ आकर्षित भएका छन् । जसले गर्दा ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या समेत न्यून हुँदै गएको छ ।
यस्तो अवस्थामा निजि विद्यालय सरह सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने उद्धेश्यले पर्वतको विहादी गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले सक्रियता बढाउनुभएको छ ।
अध्यक्ष गुरुङले हरेक वडामा पुगेर त्यहाँका शिक्षक, अभिभावक, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र विद्यार्थीहरुसँग  शैक्षिक अन्तरक्रिया गर्नुभएको छ । वैशाख १६ गतेदेखि शुरु भएको अभियान भोली बिहीवार शालिग्राम माविमा कार्यक्रमको आयोजना गरिएको छ । अन्तरक्रियाका क्रममा थुुप्रै सुझावहरु संकलन गरिएको र सोहि सुझाव सल्लाहाका आधारमा पालिकाको शैक्षिक कार्यक्रम परिमार्जन गरिने बताउनुभयो । सवै विद्यालयमा अंग्रेजी माध्यमवाट पठनपाठन शुरुवात गर्नुपर्ने सुझावहरु बढि आएका छन् । यसका लागि शिक्षकहरुलाई आवश्यक तालिम तथा क्षमता अभिबृद्धि गराएर गुणस्तर सुधारमा लगाईने उहाँले बताउनुभयो ।
सवै वडामा अन्तरक्रिया गरिसकेपछि पालिकाको शिक्षा समिति र सवै विद्यालयका प्रअहरुबीच छलफल गरिने भएको छ । जेठको पहिलो सातादेखिनै शैक्षिक गुणस्तरमा सुधार देखिने गरी काम गर्ने उहाँको भनाई छ । शिक्षा क्षेत्रको सुधारका निम्ति ठोस योजना बनाएर अघि बढ्ने बताउनुभयो । आगामी वर्षको बजेट तथा कार्यक्रममा प्राथमिकताका साथ शिक्षाको गुणस्तर सुधार कार्यक्रमलाई ल्याउने बताउनुभयो ।
अहिलेका बालबालिकाहरु भविष्यका कणर्धार हुन । उनिहरुको भविष्य उज्ज्वल बनाउनका लागि शिक्षकहरुले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । शिक्षकहरु कम्तिमा आफ्नो जिम्मेवारी र कर्तव्यप्रति इमान्दार हुने हो भने गुणस्तर सुधार तत्काल हुने बताउनुभयो । त्यसका लागि अभिभावक र जनप्रतिनिधिहरुले समेत बातावरण बनाउनुपर्ने उहाँको भनाई छ । उहाँले अहिले ६० प्रतिशत विद्यार्थी उत्तिणर् भएकोमा यसलाई ९० प्रतिशत पुर्‍याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मिना तिवारीले शिक्षाको गुणस्तर राम्रो नभएसम्म दक्ष जनशक्ति उत्पादन नहुने बताउनुभयो । सामुदायिक विद्यालयलाई सुधार नगर्नेहो भने केहि वर्षमा गाउँ खाली हुँदै जाने समस्या एकातिर रहेको छ भने अर्कोतर्फ दक्ष जनशक्तिको अभाव पनि खड्किरहने भएकाले पालिकाले शिक्षालाई जोड दिएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!