पर्वत, २६ चैत ः पर्वतमा रहेका सरकारी तथा संस्थानहरुका कार्यालयमा कार्यरत अधिकांस कर्मचारीहरुमा मोटोपनाको समस्या देखिएको छ ।
७६ औँ विश्व स्वास्थ्य दिवसको अवसर पारेर आइतवार पर्वतका सरकारी कार्यालयहरुमा कार्यरत कर्मचारीहरुमा नसर्ने रोगको स्क्रिनीङ गरिएकोमा अधिकांसमा मोटोपनको समस्या देखिएको स्वास्थ्य कार्यालय पर्वतले जानकारी दिएको छ ।
जिल्लामा रहेका सम्पूणर् कार्यलयका कार्यालय प्रमुख, कर्मचारीहरु, सुरक्षाकर्मीहरु र संचारकर्मीहरूको उपस्थितिमा कार्यक्रम गरिएको थियो । जिल्लाका एक सय ६५ जना कर्मचारीको स्वास्थ्य परिक्षण गरिएकोकामा एक सय आठ वनामा मोटोपन देखिएको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो ।
विशेषगरी कर्मचारीहरुको उचाई, तौल, उचाई तथा तौल अनुसार शरीरको मोटोपन, रक्तचाप, मधुमेह र पिसाबमा प्रोटिनको मात्राको स्क्रिनिङ गरीएको थियो । जसमध्ये ६५ प्रतिशत अर्थात एक सय आठ जनामा मोटोपन, २६ प्रतिशत अर्थात ४३ जनामा उच्च रक्तचाप र दुई प्रतिशत अर्थात चार जनामा मधुमेह देखिएको शर्माले बताउनुभयो ।
विभिन्न समस्या देखिएका कर्मचारीहरुलाई नियमित स्वास्थ्य परिक्षण गराउन चिकित्सकले सुझाव दिएका छन् । त्यसैगरी नियमित व्यायाम, स्वस्थ्यकर खानपान तथा दैनिक जीवनशैली व्यवस्थापन गर्ने जस्ता सुझाव दिएका छन् । पर्वत अस्पतालमा कार्यरत चिकित्सकहरुले कर्मचारीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको हो ।
‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नारा राखिएको यस वर्षको दिवसको अवसरमा स्वास्थ्य कार्यालय पर्वतको आयोजना र पर्वत अस्पतालको समन्वयमा कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।
सो अवसरमा जिल्ला समन्वय समिति पर्वतका संयोजक विष्णु राम वि.क, प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले पनि स्वास्थ्य परिक्षण गराउनुभएको थियो ।






