पर्वतको कार्कीनेटामा पहिरोले पुरिएका दुई जनाको मृत्यु - News site from Nepal
पर्वतको कार्कीनेटामा पहिरोले पुरिएका दुई जनाको मृत्यु

पर्वत – घर माथिबाट आएको पहिरोले गोठ पुरिँदा पर्वतमा दुई जनाको मृत्यु भएको छ ।

पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटाको टिमुरबोटका कुलप्रसाद पाध्याको घर माथिबाट आएको पहिरोले गोठ पुरिँदा स्थानीय ४० वर्षीय झलकप्रसाद शर्मा र स्याङ्जाको आँधीखोला ३ निवासी ३३ वर्षीय तुलसीप्रसाद शर्माको मृत्यु भएको हो ।

घरमाथिवाट पहिरो झर्न थालेपछि गोठमा भैंसी, बाख्रा बचाउन गएको बेला एक्कासी झरेको पहिरोले पुरिएका दुवै जना मृत अवस्थामा भेटिएका हुन् । शनिबार दिउँसो साढे ३ बजेतिर बेपत्ता भएकोमा बेलुकी ७ बजे दुवैको शव भेटिएको पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले जानकारी दिए ।
मृतक तुलसीप्रसादको घटनास्थलदेखि एक सय मिटर तल खोल्सामा शव भेटिएको हो भने झलकको भने पहिरोले बगाएर आँधीखोला पुर्‍याएको अवस्थामा शव भेटिएको हो । दिउँसो साढे ३ बजेतिर घरदेखि एक सय मिटर माथिबाट खसेको पहिरोले गोठ सहितको संरचना बगाएको थियो ।

शुरुमा स्थानीयले घटनास्थलमै खोजी गरेका थिए । पछि बगेको अनुमान गरेर विभिन्न स्थानमा प्रहरी र स्थानीय परिचालन भएपछि शव भेटिएको हो । शव खोज्न स्याङ्जासम्मका प्रहरी र स्थानीय खटिएका थिए ।

उक्त घटनामा पाध्याका घरमा पालेका २ भैंसी, १ पाडो र ४ बाख्रा पनि मरेका छन् । घर पनि पहिरोको जोखिममा परेको छ । पाध्याको परिवार छिमेकीको घरमा आश्रय लिएर बस्न थालेको छ । मृतक दुवैजनाको शब पोष्टमार्टमका लागि पर्वत अस्पतालको शबगृहमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!