पर्वत २२ असार ः म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतको मालढुङ्गा-बेनी सडक अबरुद्ध बनेको छ ।
निरन्तरको वर्षाका कारण कुश्मा नगरपालिका वडा नंं १ मालढुंगा नजिकै भिरवाट ढिस्को सहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । विहान साढे ५ बजेवाट सडक अवरुद्ध बनेको पर्वतका जिल्ला ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङदेखि छुटेका सवारी साधन खनियाघाटमा अलपत्र बनेका छन् भने अन्यत्रवाट आएका सवारीसाधन मालढुंगामा अलपत्र बनेका छन् । अत्याधिक ठुलो वर्षा भएका कारण सडक तत्काल खुलाउन समस्या भएको छ । सडक खुलाउनका लागि बेनी-मालढुंगा सडक निर्माणको जिम्मा पाएको एपेक्स-खड्का-कृष्ण जेभीको जेसिबी तयारी अवस्थामा राखिएको र वर्षा कम हुने वित्तिकै खुलाउन प्रयास गरिने ट्राफिक प्रमुख ओझाले बताए ।
१३ किलोमिटर लामो मालढुंगा-बेनी सडक अन्तर्गत अहिले मालढुंगा देखि फर्सेसम्म कालोपत्र गर्ने तयारी भएको भएपनि वर्षाका कारण यस वर्षपनि कालोपत्रको काम अलपत्र बनेको छ । मालढुंगादेखि फर्सेसम्मको पाँच किलोमिटर सडक कालोपत्रे गर्नका लागि अहिले बेस विच्छ्याउने, लोडरले अठ्याउने काम भैरहेको कालीगण्डकी कोरिडोर मालढुङ्गा-बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालय जोमसोमले जनाएको छ । तर वर्षा निरन्तर भएकाले कालोपत्र गर्न नसकिएको आयोजनाका इन्जिनियर अच्युत पन्तले बताए ।






