गठवन्धन सरकारका कारण निजामति सेवा ऐन कार्यान्वयनमा ढिलाई ः एमाले नेता ज्ञवाली - News site from Nepal

पर्वत –  नेकपा एमालेका उपमहासचिब प्रदीप ज्ञवालीले संघीय निजामती सेवा ऐन पारित गरेर तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो ।
नेपाल निजामती कर्मचारी संगठन पर्वतको जिल्ला परिषद तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार पर्यटकी गाउँ भुकदेउरालीमा सम्वोधन गर्दै नेता ज्ञवालीले निजामती ऐन कार्यान्वयनमा नल्याउँदा प्रशासनिक क्षेत्रमा समस्याहरु पैदा हुँदै गएको बताउनुभयो । उहाँले मुलुक संचालनमा कर्मचारीहरुको महत्वपुणर् भूमिका रहेको उल्लेख गर्दै सरकारले तत्काल सदनमा लगेर निजामती ऐन पारित गराउनुपर्नेमा जोड दिनुभयो ।
सरकारकै ढिलाईका कारण लामो समयदेखि यो ऐन रोकिएको बताउँदै वर्तमान सरकार कर्मचारीको मामिलामा अनुदार रहेको दावी गर्नुभयो । उहाँले निजामति सेवा तथा शिक्षा ऐन लगायतका विधेयकहरु थन्क्याएर राखेको आरोप लगाउँदै यसले संघीयतालाई समेत असर पुर्‍याएको बताउनुभयो । ‘आम कर्मचारीहरुको मनोवल बढाउनका लागिपनि तत्काल यो पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्छ’ उहाँले भन्नुभयो ।
ऐन कार्यान्वयनमा नआउँदा प्रदेश सरकारहरुले संघीयताको अभ्यास गर्न समेत नपाएको बताउँदै नेकपा एमालेले पटक पटक संसदमा उठाउँदा समेत सरकारले चासो नदेखाएको बताउनुभयो । संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि नयाँ संविधानअनुरूप संघीयता कार्यान्वयनसम्बन्धी कानुनहरू निर्माण हुन नसक्नु आश्चर्यको विषय रहेको बताउँदै ज्ञवालीले गठवन्धन सरकारलाई सत्ता टिकाउने बाहेक अन्य कुनै योजना नरहेको ठोकुवा गर्नुभयो ।
पूर्व मन्त्री समेत रहनुभएका ज्ञवालीले आसन्न राष्ट्रिय सभा निर्वाचनमा एमालेले सवै पदमा उम्मेवार उठाउने बताउनुभयो । टिआरसि विधेयक पास गर्ने नाममा राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग सहकार्य गर्न खोजिएको बताउँदै प्रधानमन्त्री प्रचण्डको विश्वासमा लागेर एमालेले कुनै सहमति र सम्झौता नगर्ने समेत दावी गर्नुभयो । नेकपा एमाले सरकारको खेलमा भन्दा पनि पार्टी मजबुत बनाउनतर्फ लागेको बताउँदै ज्ञवालीले २०८१ साललाई शुद्धिकरण वर्षको रुपमा मनाउन तयारी गरेको बताउनुभयो ।


कार्यक्रममा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले संघीय निजामती ऐन पारित गर्न सरकारले आनाकानी गरेको आरोप लगाउनुभएको छ । ऐन पारित नहुँदा निजामती क्षेत्रमा थुप्रै उल्झनहरु आएको बताउँदै गठवन्धन सरकारकै कारण रोकिएको दावी गर्नुभयो । उहाँले कर्मचारीहरु आम नागरिकका सेवक भएको बताउँदै नागरिकलाई चुस्त दुरुस्त सेवा प्रवाह गर्न समेत आग्रह गर्नुभयो । स्थायी सरकारको रुपमा रहेका कर्मचारीहरुलाई राज्यले उचित रुपमा संवोधन गर्न नसकेको बताउनुभयो । हिजो सवैभन्दा राम्रो अवसरको रुपमा रहेको निजामित सेवामा अहिले आकर्षण घट्दै गएको बताउँदै यसलाई बलियो बनाउन राज्यले समयमै ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईराला, नेकपा एमालेका केन्द्रीय सदस्य कल्पना चापागाई, जिल्ला अध्यक्ष राजु पौडेल, प्रदेश सांसद भक्त कुँवर, मित्रलाल बस्याल, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा लगायतले सम्वोधन गर्नुभएको थियो ।
निजामती कर्मचारी संगठन पर्वतका अध्यक्ष बालकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब दिपक सुवेदीले गर्नुभएको थियो । पर्यटकीय गाउँ भुकताङ्लेमा पुगेका कर्मचारीहरुको बनभोज समेत सम्पन्न भएको छ भने स्थानीय होमस्टे व्यावसायीहरुले बाजागाजा सहित भव्य स्वागत समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!