एसइई पुरक परिक्षाको निःशुल्क तयारी कक्षा चलाउँदै मोदी गाउँपालिका - News site from Nepal

पर्वत : जिल्लाको मोदी गाउँपालिकाले एसइईमा अनुत्तीर्ण भएका विद्यार्थीहरूको लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

हालै प्रकाशन भएको एसइईको नतिजा अनुसार ‘नन ग्रेड’ मा परेर पुनः ‘ग्रेड’ वृद्धि परीक्षामा सहभागी हुनुपर्ने अवस्थामा रहेका विद्यार्थीहरूको लागि गाउँपालिकाको आर्थिक सहयोग तयारी कक्षाहरू सञ्चालन गर्न लागिएको हो । गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आएकोले यो कामका लागि पनि स्थानीय तहले नै लगानी गर्ने भएको गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बताए ।

गाउँपालिकाका १२ वटा विद्यालयहरूबाट कुल दुई सय ७४ जना विद्यार्थीहरू सहभागी भएकोमा तीमध्येका एक सय ५९ जना उत्तीर्ण भएका छन् भने एक सय १५ जना अनुत्तीर्ण भएका छन् । उनीहरूको लागि असार २३ गतेबाट मोदी गाउँपालिका–६ डिमुवामा रहेको नव जागृत बहुमुखी क्याम्पसको भवनमा कक्षा सञ्चालन गरिने गाउँपालिकाका शिक्षा अधिकृत दिनेश शर्माले बताए ।

धेरै विद्यार्थीहरू गणित, विज्ञान, अङ्ग्रेजी र अतिरिक्त गणित विषयमा अनुत्तीर्ण भएकाले यिनै विषयहरूलाई केन्द्रित गरेर कक्षा सञ्चालन गर्न लागिएको हो । बिहान सात बजे देखि १० बजेसम्म सञ्चालन हुने कक्षामा अध्यापन गर्नको लागि गाउँपालिकाकै शिक्षकहरू तयार पारिएको छ ।

शिक्षा अधिकृत शर्माका अनुसार जनसिद्ध मा.वि.चित्रेका दुई जना, पशुपति मा.वि. राम्जाका ११ जना, नवजागृत मा.वि. तिलाहारका २३ जना, तुलोदय मा.वि. गिज्यानका तीन जना, सरस्वती मा.वि. पोखरेका १२ जना, महेन्द्र शिखरी मा.वि. बाजुङका २० जना, शालिजा मा.वि. लेस्पारका आठ जना, हिमालय मा.वि. देउरालीका सात जना, जननेत्र मा.वि. देउपुरका १५ जना, देउपुर नमुना आवासीय मा.वि. पातिचौरका दुई जना, भूक देउराली मा.वि. भूकका १३ जना र नवज्योति थम मा.वि.का नौ जना अनुत्तीर्ण भएका छन् ।

मोदी गाउँपालिकाभरमा छात्रतर्फ ३.८४ जिपिए सहित नवजागृत मा.वि.का सुशील पौडेल र छात्रातर्फ ३.८३ जिपिए सहित सोही विद्यालयकै प्रकृति तिमिल्सिना उत्कृष्ट भएका छन् । तथ्याङ्क अनुसार गाउँपालिकाका सामुदायिक विद्यालयको उत्तीर्ण प्रतिशत ५४।६ र समग्र उत्तीर्ण प्रतिशत ५८ रहेको छ । उत्कृष्ट हुने विद्यालय अन्तर्गत सामुदायिकतर्फ ८५.७ उत्तीर्ण प्रतिशत सहित जनसिद्ध मा.वि. र निजीतर्फ ९२ प्रतिशत सहित देउपुर नमुना मा.वि. रहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि अर्थात् पूरक परीक्षा साउन २३ गतेदेखि सञ्चालन गर्दै छ । परीक्षाफल सार्वजनिक भएको बेलामा दुई विषयमा ‘नन ग्रेडे’ अर्थात् अनुत्तीर्ण विद्यार्थीले मात्रै यो परीक्षामा सहभागी हुन पाउने र उक्त परीक्षा साउनको १८ र १९ गते सञ्चालन गर्ने भनिएको थियो । तर शिक्षा मन्त्रालयको निर्देशनपछि बोर्डले दुईभन्दा बढी विषयमा अनुत्तीर्ण भएकाहरूलाई पनि परीक्षामा सहभागी गराउने निर्णय भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!