लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
र पो तिहार आए जस्तै लाग्थ्यो ……..!! - News site from Nepal
र पो तिहार आए जस्तै लाग्थ्यो ……..!!

                                                                    जीवन उच्चै ठकुरी

घुम्म घुम्म मादलुको ताल बज्दा गाउँमा
देउसी, भैली र सालैजोको भाका
जताततै गुन्जिन्थ्यो
र पो तिहार आए जस्तै लाग्थ्यो

आफ्नै बारीमा सितले लछरम्म भिजेको
मगमग बसाएको तिहारे भाले फुलको माला लगाइथ्यो
र पो तिहार आए जस्तै लाग्थ्यो
बिमिराको पातबाट हरियो दुना बनाइ
गोबरले लिपि चकमन्न
औसिको अध्यारो निसोट रातमा बत्ति बालिन्थ्यो
र पो तिहार आए जस्तै लाग्थ्यो

गाउँका अल्लारे दौँतरी सङ्गी साथी जम्मा भइ
औसिको रात गाउँमा भैली खेल्दा
मकैको झ्योती पाइन्थ्यो
र पो तिहार आए जस्तै लाग्थ्यो

कात्तिकको चिसो रातभरको अनिदो
सुकेको स्वरले बोल्न नसकी
बिहान भरी सुत्दा बुवामुवाको गाली खाइथ्यो
र पो तिहार आए जस्तै लाग्थ्यो

भोको पेट बारिको बोडीका कोसा
,मुला,उखु,सुन्तला चोरी खादा
कहिलेकाही घरबेटिले चाल पाएर खेदाइन्थ्यो
र पो तिहार आए जस्तै लाग्थ्यो

पकाएको चाउचाउ दानमा दिएको सेल रोटी
दिएको चामल कसैको घरमा
नाता लगाइ पकाएर खाइन्थ्यो
र पो तिहार आए जस्तै लाग्थ्यो

साथिले भटयाउदा भटयाउदै छिप्पिएको रातमा
घरबेटी बिउझिएर पनि न उठदा
भैली गाउदै धाइन्थ्यो
र पो तिहार आए जस्तै लाग्थ्यो

देउसी भन्दै थाके पछि भट्याउने कुरा सकिए पछि
अब के गाउने वाल्ल परे पछि
घरबेटीले गाई भन्दा
बल्ल पर्यो निरमाया माकुरी जालैमा गाइन्थ्यो
र पो तिहार आए जस्तै लाग्थ्यो

बिहानै पिढिमा हालेको तेल र पिठोको धार
गोठमा बाधेको लामो तोरनले सजिएको गोठ
गोठ भरी गाई गोरु कराउथे सबैलाई माला चाहिन्थ्यो
र पो तिहार आए जस्तै लाग्थ्यो

टोल टोलमा हालिने लिङ्गे पिङ
बिरलै पाइने चर्के पिङ
बाबियो बास खोज्नु पर्ने तेसैले गाउँ भरी डुल्दै माइन्थ्यो
र पो तिहार आए जस्तै लाग्थ्यो

निधारमा सप्तरङी टीका
फुलको माला छडके भिरेर लिङ्गे र चर्के पिङ
खेल्न खेलाउन पल्लो गाउँ
धाउदै जिस्किदै दौँतरी ठिटीहरु सग माया पिरती लाइन्थ्यो
र पो तिहार आए जस्तै लाग्थ्यो ….

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!