पर्वत २० साउन ः पर्वतका कृषकले लगाएको धानवाली ढुसी रोगले नष्ट गर्न थालेको छ । धान रोपेको एक महिनामै ढुसीका कारण धानका गाँजहरु मर्दै जान थालेपछि कृषकहरु चिन्तित बनेका छन् ।
जिल्लाको फलेवास नगरपालिकाका सवैजसो वडा, कुश्मा, विहादी, महाशिला लगायतका वडाहरुमा लगाएको धानवालीमा जरा कुहिने रोग लागेको हो । ‘फुट रुट’ नामक उक्त रोग ढुसीकै कारण लागेको र यसले कतिपय स्थानमा धानखेत रित्तिदै जान थालेको पाईको छ ।
जिल्लाको फलेवास नगरपालिकाकाको कृषि शाखा प्रमुख केदार सापकोटाका अनुसार अहिले यो देशव्यापी रुपमा देखा परेको छ । उहाँका अनुसार यो रोग ढुसी नामक फुजारिएम मोनिलिफर्मबाट लाग्ने गर्दछ । ब्याडमा कलिलो बिरुवा देखि खेतमा धान छिप्पिने बेलासम्म यो रोग देखा पर्ने गरेको सापकोटाले बताए । समयमै नियन्त्रण गर्न नसक्ने हो भने ठलो नोक्सानी व्यहोर्नुपर्ने उनको भनाई रहेको छ ।
कृषि ज्ञान केन्द्र पर्वतका बाली संरक्षण अधिकृत सोबिता सुवेदीले बिऊको उपचार नगरीकन लगाईएका कारण धानवालीमा ढुसी रोग फैलिएको बताउनुभयो । धानले गाँंज राख्ने बेलामा रोग फैलिएकाले तत्काल उपचार गर्नुपर्ने उनको सुझाव रहेको छ ।
यो रोगवाट बाली जोगाउनका लागि रोगि बोट तत्कालै हटाउने, कार्बेन्डाजिम ५०५, डब्लु पी ९ जस्तै बेभिष्टिन ०, ढुसिनाशक बिषादी प्रयोग गर्नुपर्ने उनको सुझाव रहेको छ । ढुसिनासक औषधी प्रयोग गर्दा २ ग्राम प्रति लिटर पानीका दरले १ रोपनी क्षेत्रफलमा २५ देखि ३० लिटरको घोल बनाएर १० दिनको फरकमा दुई देखि तीन पटक छर्कनुपर्ने बाली संरक्षण अधिकृत सुवेदीले बताउनुभयो । साँझ ४ बजेपछि विषादी छर्किदा उपयुक्त हुने उनको भनाई छ ।
धमाधम धानका बोट मर्न थालेपछि खेत रित्तै हुन थालेको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरिका कृषक शिव अधिकारीले बताए । उनले धानमा रोग लागेपछि आफुले लगाएको पोखरेली जेठो बुढो, एक्ले, पहेँले जस्ता धानवाली नष्ट भएको गुनासो गरे ।
फलेवास नगरपालिका वडा नं. ९ भँगरामा मात्रै ९० रोपनी क्षेत्रफलमा गरिएको पोखरेली जेठो बुढो धानखेतीमा ढुसी र फट्यांग्राले नष्ट गरेको स्थानीय कृषक लोकप्रसाद काफ्लेले बताए । ठुलो लगानी गरेर धान खेती गरेपनि समयमै रोग लागेर नष्ट गरिदिएको उहाँको गुनासो रहेको छ ।
फलेवास नगरपालिकाको कृषि शाखाका अनुसार रैथाने जातका धान र खुमल–४ तथा जेठो बुढो धान लगाएका ठाउँमा ढुसीको प्रकोप बढि देखिएको छ । विषादी प्रयोग गर्नुअघि रोग ग्रस्त बोटहरु उखेलेर नस्ट गर्ने, पानीको निकासा गर्ने, नाईट्रोजन युक्त मलको प्रयोग गर्न नहुने कार्यालयले जनाएको छ ।
नगर कृषि सञ्जाल फलेवासका संयोजक बिनोद भुसालले पर्वतको धानवालीमा ठुलो समस्या आएको जानकारी दिए । कतिपय स्थानमा गाँज राख्नेबेलाको धान मरेर खेत पुरै खाली हुन थालेको भन्दै तत्काल उपचार गर्नुपर्ने अवस्था आएको बताउनुभयो । यहि अवस्थामा धानवालीमा कृषकले ठुलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएको छ ।
कृषि ज्ञान केन्द्र पर्वत र फलेवास नगरपालिकाको कृषि शाखावाट निशुल्क रुपमा कृषकलाई ढुसिनासक औषधी उपलव्ध गराईएको संयोजक भुसालको भनाई रहेको छ ।






