पर्वत २२ जेठ ः पुर्वाधार विकास कार्यालय पर्वत मार्फत पर्वतमा संचालित ८२ वटा योजना सम्पन्न भएका छन् ।
जिल्लाका विभिन्न क्षेत्रमा संचालित, सडक कालोपत्रे, मर्मत, मोटरेवल पुल, झोलुङ्गे पुल लगायतका योजनामा बजेट बिनीयोजन भई कार्यान्वयनमा आएका मध्ये ८२ वटा योजना सम्पन्न भएका हुन् । कतिपय चालु आर्थिक वर्षभित्र सम्पन्न हुनुपर्ने र कतिपय गत वर्षदेखि निर्माणाधिन रहेका योजना सम्पन्न भएको पुर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिनुभयो ।
कार्यालयले छ वटा ठुला योजनाहरु सम्पन्न गरेको छ भने अन्य मर्मत, स्तरोन्नती, टेवा पर्खाल, नाली निर्माण, लगायतका योजनाहरु सम्पन्न गरेको हो । कार्यालयमार्फत संचालित थप १८ वटा ठुला योजनाको काम पनि धमाधम भैरहेका छन् । संघीय ससर्त अनुदानवाट संचालित १८ वटा बहुबर्षिय योजनाको काम पनि तीब्र गतिमा भैरहेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
सम्पन्न भएका योजनामा १६ किलोमिटर कालोपत्रे भएको छ भने अन्य सडकको स्तरोन्नतीको काम गरिएको छ । अझै असार मसान्त सम्म कालोपत्रे सडकको दुुरी बढ्ने कार्यालयले जनाएको छ । एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गतको मिलनचोक-धाईरिङ्ग-घायखेत सडकको मिलनचोक देखि सल्यान सम्मको खण्ड कालोपत्रे भैसकेको छ भने अर्को खण्डमा पनि काम धमाधम भएको छ । त्यस्तै प्रादेशिक सडक अन्तर्गत क बर्ग र ख बर्गका योजनाहरु पनि धमाधम काम भैरहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार डिमुवा-राम्जा-चित्रे पाँच दशमलब पाँच किलोमिटर सडक कालोपत्रे, चिसापानी -हातेमालोचोक- त्रिवेणी- वाकीभञ्याङ -पोखराचौर सडक आठ किलोमटिर कालोपत्र सम्पन्न भएको छ । यस्तै सेरावेसी-मोहोरिया- भुक सडक दुई किलोमिटर, नुवार- शहिदचोक -चुुचुनदेउराली पाँच सय ६० मिटर र वाझावारी -राम्चेचौतारा आधा किलोमिटर सडक कालोपत्रे भएको छ ।
कार्यालयका अनुसार मख -ठुलीपोखरी-देउपुर -देउराली -जोगीथुम सडक खण्डमा दुई किलोमिटर सडक कालोपत्रे गरिएको छ भने रतिखोला -दराक- चित्रे -राम्जा सडक ठेक्का सम्झौताको तयारीमा रहेको छ । चालु आर्थिक वर्षमा बजेट बिनीयोजन भएका एक सय ५२ वटा योजना मध्ये दुई/चार वटा बाहेक सवै कार्यान्वयनमा गैसकेका छन् । कतिपय जग्गा विवाद भएका, जग्गा तथा बाटोका नामाकरणमा एकरुपता नभएका र विवादीत देखिएका बाहेक सवै योजनामा काम भैरहेको उहाँले बताउनुभयो ।
कार्यालय प्रमुख अधिकारीका अनुसार चालु आर्थिक वर्षमा पूर्वाधार कार्यालय पर्वतमा प्राप्त भएको संघ र प्रदेशको कुल रु. एक अर्ब छ करोड ९५ लाख रुपैया मध्ये हालसम्म रु. ३४ करोड ४६ लाख ८९ हजार रुपैया खर्च भएको छ । अहिलेसम्मको वित्तिय प्रगति ३२ दशमलब २३ प्रतिशत रहेको छ भने भौतीक प्रगति ५० प्रतिशत नाघेको कार्यालयले जनाएको छ ।
कतिपय काम सम्पन्न भैसकेका योजनाको भुक्तानी हुन बाँकी रहेका छन् । कार्यालयले यस वर्ष कुनैपनि योजनालाई पेश्की रकम भुक्तानी नदिएका कारणपनि वित्तिय प्रगति कम देखिएको कार्यालयका लेखा अधिकृत गोबिन्द सापकोटाले जानकारी दिनुभयो ।






